एजेन्सी – अमेरिकाको मध्यस्थतामा इजरायल र यूएईबीच शान्ति सम्झौता गर्ने सहमती भएको छ । निकै ऐतिहासिक मानिएको यो सहमति पछि विश्व समुदायले खाडी क्षेत्रमा शान्ति बढ्ने अपेक्षा गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र आबुधाबीका युवराज मोहम्मद अल नाहयानले संयुक्त विज्ञप्ति जारी गर्दै केही समय भित्रै शान्ति सम्झौता गर्ने सहमति पत्र सार्वजनिक गरेका हुन् ।
यो संगै इजरायल कब्जा गरेको वेस्ट बैंकका थप भागलाई विस्तार गर्ने विवादास्पद योजना समेत रद्द हुने भएको छ । बिस्तृत शान्ति सम्झौता आगामी साता इजरायल र यूएईका प्रतिनिधिहरू उपस्थितीमा हुने भएको छ ।
सहमति अनुसार दुई देशले लगानी, पर्यटन, सीधा हवाई उडान, सुरक्षा, दूरसञ्चार, प्रविधि, ऊर्जा क्षेत्रमा सहयोग आदान प्रदान गर्ने तयारी गरेका छन् ।
त्यसका साथै स्वास्थ्य सेवा, संस्कृति, वातावरण, दुवैतर्फ दूतावास स्थापना र अन्य द्विपक्षीय फाइदाका विषयमा सम्झौता हुने भएको छ ।
यसै बिच अमेरिकी राष्ट्रपती डोनाल्ट ट्रम्पले सम्झौतालाई ठूलो सफलता भनेका छन् । इजरायल र यूएईले उक्त सम्झौतालाई ऐतिहासिक र शान्तिको दिशामा एउटा सफलता भनेका छन् ।
उता प्यालेस्टिनीहरूले यो कदमले आफ्नो भविष्यमा एउटा स्वतन्त्र देश बन्ने आशालाई नष्ट गरिदिने जनाएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले भने सम्झौताको स्वागत गरेका छन् ।
इजरायलले अहिलेसम्म कुनै पनि खाडी मुलुकसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको थिएन । इरानलाई लिएर बढ्दो साझा चिन्ता बढिरहेको बेला अमेरिकाको मध्यस्ततामा युएईसँग शान्ति सम्झौता भएको हो ।



