सुन्धारास्थित थिएटर मलमा नाटक ‘उपियाँको निबन्ध’ रिहर्सल हुँदै थियो । तरह–तरहका पहिरन चाहिन्थ्यो, निर्देशकको चाहनाबमोजिम पहिरन बनाउन कलाकार आफैं खटिरहेका थिए । एउटा कपडा काटकुट पारेर नयाँ बनाउनुपर्ने भयो तर कहाँ पो सिलाउने ?
त्यतिखेरै कलाकारमध्ये एक लक्ष्मी बर्देवाले भनिछन्, ‘मेरो घरमा बुबाको टेलरिङ छ । म सिलाउन भन्छु ।’ अरू कलाकारले खासै अनौठो मानेनन् तर जीवन भट्टराईको मनमा कौतूहलता पलायो, ‘बर्देवा भनेको त पक्कै दलित (परियार) होइन होला । त्यसो भए घरमै बुबाको टेलरिङ कसरी ?’
फेरि एकछिनपछि आफैंसँग भनेछन्, ‘टेलरिङको व्यवसाय मात्र होला ।’ जीवनले लक्ष्मीबारे यत्तिविघ्न घोत्लिनुको कारण थियो, ‘त्यतिबेला उनी लक्ष्मीलाई मन पराउन थालिसकेका थिए । तर, दलित नै रहिछन् भने संकट पर्थ्यो, उनी त उपाध्याय बाहुनको छोरो ।’
जीवनको शंका सही थियो । लक्ष्मी दलित समुदायकै थिइन्, उनीसँग माया गाँसेपछि अनेक उल्झनले लपेटिरह्यो । तर, प्रेम यति प्रगाढ बन्दै गयो कि जातको तगारोले कहिल्यै छेक्न र रोक्न सकेन ।
चार वर्ष बित्यो । हालैको झरी परेको एक बिहान अनामनगरमा लक्ष्मी र जीवन एकसाथ भेटिए, अहिले सहकर्मीबाट पतिपत्नी बनिसकेका छन् । त्यतिबेला नाटक मात्र गर्थे, फिल्म हुँदै अहिले म्युजिक भिडियोमा व्यस्त हुन थालेका छन् ।




















