काठमाडौं- उनका परिचय नै दुई वटा छन् ।
कुनै बेला उनी कलाकारको रुपमा चर्चित थिइन् ।
चलचित्र, म्युजिक भिडियोदेखि विज्ञापनमा समेत अभिनय गरेकी छिन् ।
यद्यपि, पेशागत रुपमा उनी अहिलेका लागि अति नै संवेदनशील क्षेत्र अर्थात स्वास्थ्य क्षेत्रमा सक्रिय छिन् ।
हामी कुरा गर्दैछौं अभिरुची बुढाथोकीको, जो लामो समयदेखि अभिनयलाई सौखको रुपमा मात्र सिमित राख्दै नर्सिङ पेशालाई करियरको रुपमा अघि बढाइरहेकी छिन् ।
किस्ट नर्सिङ कलेजबाट पिसिएल नर्सिङ उत्तिर्ण गरेर पाटन अस्पतालमा काम गर्न थालेकी अभिरुचीले होप कलेजबाट बिएन समेत गरिसकेकी छिन् ।
सात वर्षकै उमेरमा चलचित्र चित्कारमा बाल कलाकारको रुपमा अभिनय गरेकी अभिरुचीले टेलिश्रृंखला नरमणीका १४ श्रृंखलासम्म अभिनय गरेकी थिइन् ।
आधा दर्जन म्युजिक भिडियो, एउटा चलचित्रको आइटम गीतमा नृत्य, आधा दर्जन जति सर्ट फिल्म, थुप्रै विज्ञापन तथा फोटोसेसनमा सहभागि भैसकेकी अभिरुची लामो समयदेखि पाटन अस्पतालमा सिनियर नर्सको रुपमा कार्यरत छिन् ।
नेपालमा कोरोना संक्रमणको प्रकोप बढ्न थालेदेखि नै उनी पछिल्लो तीन महिनाभन्दा लामो समयदेखि पाटन अस्पतालकै प्रसूती वार्डको पनि कोभिड वार्डमा कार्यरत छन् ।
कोरोना महामारी उच्च बिन्दूमा पुगेको अवस्था पारेर बुढाथोकीसंग लामो कुराकानी गरेका छन् । कुराकानीको सम्पादित अंश :
पछिल्लो समयको व्यस्तता कस्तो छ ?
अभिरुची बुढाथोकी: नमस्कार…पछिल्लो समय थप व्यस्त भैरहेकी छु । पाटन अस्पतालको प्रसुतीको कोभिड वार्डमा काम गरिरहेकी छु । कोरोनाको ड्यूटीमै समय बितिरहेको छ भन्दा फरक पर्दैन ।
कति समयदेखि कोभिड वार्डमा कार्यरत हुनुहुन्छ ?
म धेरै अघिदेखि नै प्रसुती वार्डमा कार्यरत थिएँ, नेपालमा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेपछि हाम्रै वार्डमा बनाइएको कोभिड वार्डमा काम गर्न थालें ।
हप्तामा कति दिन कोभिड–वार्डमा बिताउनु हुन्छ ?
हप्तामा चार दिन काम गर्नु पर्छ । नाइट–डे भन्ने हुन्न, एक पटक अस्पताल पुगेपछि झण्डै साढे १२ घण्टाको ड्यूटी पुरा गर्नु पर्छ । छ–छ घण्टा गरेर दुई सिफ्टमा काम गर्नु पर्छ ।
कोभिड–वार्डको काम कत्तिको डरलाग्दा हुन्छ ?
सुरुमा त निकै नै डरलाग्दो अवस्था थियो । किनभने कोरोना भाइरसको संक्रमणका बारेमा कसैलाई पनि धेरै जानकारी थिएन । नेपालमा त झन् कस्तो अवस्था हुने होला भन्ने कुराको कसैले अनुमान समेत गर्न नसक्ने अवस्था थियो । बिरामीहरुको अवस्था देख्दा के होला भन्ने डर लाग्थ्यो । तर, समय बित्दै जाँदा हामी स्वास्थ्यकर्मीले समेत कोरोना भाइरसलाई राम्ररी व्यवस्थापन गर्न सक्षम भैरहको अनुभव भैरहेको छ ।
त्यो बेलाको डर कस्तो थियो ?
त्यो बेलाको डर त कस्तो–कस्तो । फेरि हामी प्रसुती वार्डमा भएकाले अनि डेलिभरी गराउनु पर्ने भएकाले बिरामीसंगै हामी पनि अति नै रिस्कमा हुन्छौं । एक मिटरको दुरी भित्र रहेर बिरामीको सेवामा जुट्नु पर्ने भएकाले पनि सुरु–सुरुमा निकै डरलाग्दो स्थिति थियो । अझ यो संक्रमण हावा तथा थुकको छिटाबाट पनि फैलिन्छ भन्ने थाहा भएपछि झन् डर लागेको थियो । तर, ती सबै डरहरुलाई बिर्सेर कोरोनाबाटै संक्रमित गर्भवतीहरुलाई उपचार गरेर, नीको पारेर फर्काउन सफल हुँदा भने आफ्नै पेशाप्रति गौरवको अनुभव हुन्छ । आफ्नो देशका लागि डटेर लड्न पाइएको छ भन्ने अनुभव हुन्छ ।
अहिलेसम्म तपाईं कार्यरत कोभिड वार्डमा कति जना संक्रमितको उपचार गरियो होला ?
यति नै भनेर त गनिएको छैन, तर तीन–चार जना संक्रमित गर्भवतीहरुको त शल्यक्रिया नै गरेर बच्चा निकालियो । कोरोना पोजेटिभलाई निकै नै हासियारीपूवर्क शल्यक्रिया गरियो । आमा र बच्चालाई सुरक्षित मात्र होइन, निको पारेरै घर पठाइयो । यसबाहेक दुई जना गर्भवतीहरुलाई पनि पोजेटिभ देखिएको थियो, उपचारपछि नेभेटिभ भयो । त्यस्तै कतारबाट आउनु भएकी एक जना गर्भवती महिलामा पनि पोजेटिभ देखिएको थियो, उहाँ पनि उपचारपछि संक्रमणमुक्त भएर घर गैसक्नु भएको छ । ठ्याक्कै तथ्यांक त छैन, तर १० जना जति संक्रमितहरुको उपचारमा प्रत्यक्ष संलग्न भैसकेकी छु ।
कोभिड–वार्डको वातावरणका बारेमा केही बताउन मिल्छ कि ?
कतिपय कुरा त हामीले भन्न मिल्दैन, तर त्यहाँ भित्रको वातावरण अन्य आईसीयू वार्डहरु जस्तै हुन्छ । हामी स्वास्थ्यकर्मीहरु पीपीई लगाएर पूर्ण रुपले सुरक्षित भएर मात्र उक्त वार्डमा प्रवेश गर्छौं । हामीले विरामीको अवस्थामात्र होइन, आफूलाई पनि जोगाउँदै उपचारमा सक्रिय हुनुपर्छ ।
पीपीई लगाउँदा, लगाएर उपचार गरिरहँदा तथा खोल्दाको अनुभव सुनाउनु होस् त ?
अस्पताल पुगेपछि हामीले सबैभन्दा पहिला गर्ने काम भनेकै पीपीई लगाउनु हो । यो कार्यलाई हामी डनिङ भन्छौं । पीपीई खोल्ने कार्यलाई डफिङ भनिन्छ । पीपीई लगाउँदा विभिन्न नियमहरु पालना गर्दै स्टेपवाइज लगाउनु पर्छ । एउटा तालिकालाई फलो गर्दै एकदमै राम्ररी, कतैबाट पनि हावा नछिर्ने गरी लगाउनु पर्छ । हावा छिरेको पाइयो भने त्यो ठाउँमा टेप टाँस्नु पर्छ । पीपीइ लगाइसकेपछि ग्लोब्स, मास्क तथा बाहिरबाट भाइजर (फेस शिल्ड) लगाउनु पर्छ ।
पीपीई लगाएपछि नखोलुञ्जेलसम्मको अवधि कस्तो हुन्छ ?
एक जना नर्सको ड्यूटी आवर कम्तिमा छ घण्टाको हुन्छ । पीपीई लगाएर वार्डमा छिरेपछि हामीले खाने, पिउने अथवा ट्वाइलेट समेत जान मिल्दैन । अर्थात पीपीई नखोलीकन केही पनि गर्न मिल्दैन । यदि ड्यूटी आवर बढ्यो भने हामीलाई अझ गाह्रो हुन्छ ।
पीपीई खोल्न अझ गाह्रो हुन्छ भन्ने सुनिन्छ नि ?
हजुर, पीपीई लगाउन भन्दा खोल्न गाह्रो छ । लगाउँदा एक्लै पनि लगाउन सकिए पनि खोल्दा एक जना सहयोगी हुनै पर्छ । जति पनि स्वास्थ्यकर्मीहरु संक्रमित भएको भन्ने सुनिन्छ, त्यो यही डफिङको क्रममा हुने असावधानीका कारण भएको भन्ने रिपोर्टहरु आइरहेका छन् । त्यसैलै पीपीई खोल्ने क्रममा विशेष ध्यान दिनु पर्छ । पीपीई खोल्नुअघि करिव तीन मिनेटसम्म ७० प्रतिशत अल्कोहलसहित सेनिटाइजरले पुरै शरीर स्प्रे गर्नु पर्छ । पीपीईसहित स्प्रे गरेपछि ३० सेकेण्ड होल्ड गरेर खोल्ने प्रक्रिया प्रारम्भ गर्नु पर्छ । पीपीई, भाइजर, मास्क, गग, ग्लोब्स पालैपालो खोल्नु पर्छ । ती सबै चिजहरुलाई सुरक्षित तरिकाले जहाँ–जहाँ राख्नु पर्ने हो, डिस्पोज गर्नु पर्ने हो, त्यो गर्नु पर्छ । त्यसपछि ट्वाइलेट जाने, खाजा–खाना जे खाने हो त्यो खानु पर्छ । त्यसको केही समयपछि पुनः अर्को हाफका लागि पुनः पीपीई लगाएर वार्डमा जानु पर्छ । हामीले लगाउने पीपीई भने पाटन अस्पताल आफैंले बनाउने गरेको छ ।
हरेक दिन घरबाट अस्पतालतर्फ लाग्दा कत्तिको डर लाग्छ ?
मैले अघि नै भनें नि, पहिला–पहिला त अति नै डर लाग्थ्यो । तर अहिले भने डर कम भएको छ । यद्यपि, जोखिम भने अहिले चाहिं बढिरहेको छ, तर कोरोनाका बारेमा हामी सबै राम्रो जानकार भएकाले होशियार भएर यसबाट बच्न सकिन्छ भन्ने कुरा पनि बुझिसकेका छौं । अहिले अहिले पहिला जस्तो डर लाग्दैन ।
पहिलो पटक कोभिड वार्डमा काम गर्नु पर्ने कुरा सुन्दा कस्तो अनुभव गर्नु भयो ?
म आफ्नो वार्डमा सिनियर भएकाले मेरो नाम त पहिलो सूचीमै आयो । म सिनियरको सूचीमा परें । सुरुमा त डर लागिहाल्यो । त्यो बेला इटलीमा नर्सहरु नै कोरोनाबाट संक्रमित मात्र होइन ज्यान समेत गुमाइरहेको समाचार सुनिरहेकाले डर त कति हो कति लागेको थियो । सबैभन्दा पहिला ममीलाई फोन गरेर आफू कोरोना वार्डका लागि छनोट भएको कुरा डराइ–डराइ सुनाएँ । ममीको कुराले भने ममा अचानक हिम्मत भरिएर आयो । ‘यत्रो ठूलो महामारी आएको बेला तिमीले निडर भएर बिरामीको सेवा गर्न सक्यो भने पो सच्चा नर्स भयौ त’ ममीको यो कुराले मलाई शत प्रतिशत हिम्मत बढायो । त्यो बेला मैले हिम्मत दिने पनि कोही न कोही चाहिने रहेछ । एक जना मान्छेको हिम्मतले पनि कति ठूलो काम गर्ने रहेछ भन्ने अनुभव गरें ।
त्यसपछिको कार्य कसरी प्रारम्भ भयो ?
हामीलाई पाटन अस्पतालले उतै बस्ने सुविधा पनि दिएको थियो । केही साथीहरु त बस्नु पनि भयो । तर म भने सामाजिक दुरी मेन्टेन गर्दै घरबाट आउने–जाने निर्णय गरें ।
घरमा आफूलाई कसरी सुरक्षित राख्नु भयो, अरुको सुरक्षाको ध्यान कसरी दिनु भयो ?
अस्पतालबाट घर आउने बित्तिकै सबैभन्दा पहिला स्कूटर नै सफा गर्न थालें । त्यसपछि अस्पताल जा“दा लगाएका पहिरनहरु धुने, नुहाउने, साबुनपानीले हात धुने, लुगा फेर्ने, सर्जिकल मास्क लगाउने कार्यलाई निरन्तरता दिन थालें । कतिसम्म भने म त अहिले पनि घरमा बस्दा पनि मास्क लगाइरहेकै हुन्छु । किनभने केही महिनाअघि हाम्रै यूनिटका दुई जना नर्स तथा एक जना डाक्टरलाई पनि कोरोना पोजेटिभ देखिएको थियो, त्यसैले हामी अलि बढि नै होसियार हुनु पर्दछ ।
तपाईंले कति पटक पिसीआर परीक्षण गराउनु भयो ?
मैले अहिलेसम्म एक पटक मात्र परीक्षण गराउनु परेको छ, त्यो पनि केही महिनाअघि । परीक्षणको रिपोर्ट नआउञ्जेल निकै डर लागेको थियो । नेगेटिभ आएपछि खुशी भएँ । पाटन अस्पतालमा करिव ४ सय ५० जना नर्सहरु कार्यरत छौं । त्यसैले हरेक नर्सको पिसिआर परीक्षण सम्भव नभएकाले अस्पतालले नै एउटा समुहमा काम गर्नेमध्ये एक पटक पटकमा एक जनाको दरले पिसिआर परीक्षण हुन्छ । उदाहरणको लागि मेरो वार्डको नाइट सिफ्टमा हामी तीन जना काम गर्छौं । हामी मध्ये एक जनाको परीक्षण गर्दा र उनको नतिजा जे आउँछ हाम्रो पनि त्यही नै हुनेछ भन्ने प्रकृया अपनाइएको छ । अब भने मेरो दोस्रो परीक्षण गर्ने बेला भएको छ ।
आफ्नो कामलाई चूनौतीपूर्ण त मान्नु हुन्छ नि ?
हावाबाट समेत, ड्रपलेट्सबाट समेत सर्ने भएकाले हाम्रो काम अति नै चुनौतीपूर्ण छ । अझ पिपिई लगाएर वार्डमा छिरेपछि खाना, पानी खान र पिउन त के पिसाव समेत फेर्न नपाउने अवस्था, हावा टाइट भएर सासै फेन गाह्रो हुने अवस्था, मास्को डाम बसेर अनुहारमै दाग लाग्ने अवस्थाले भने निकै दुःख पनि लाग्छ ।
पिपिई लगाएर कार्यस्थलमा खटिँदा भोगेका अफ्ट्याराहरु के–के छन् ?
हामी महिलाहरुलाई महिनाको चार दिन हुने मासिकश्रावको बेला भने निकै नै अफ्ट्यारो परेको नमीठो अनुभव गरेकी छु । एक पटक मेरो पिरियडकै क्रममा नायट ड्यूटी थियो । म सात बजे पिपिईसंगै त्रिपल प्याड लगाएर ड्यूटीमा खटिँदा । त्यो रात सात बजेदेखि नै एक जना कोभिड बिरामीको बच्चा जन्माउनु पर्ने थियो । बच्चा जन्माउन गाह्रो भएकाले भ्याकुम समेत लगाउनु परेको थियो । राति साढे एक बजेमात्र बच्चा जन्मिएयो । मलाई भने झण्डै सात घण्टा अगाडि लगाएको प्याडले गर्दा निकै गाह्रो भैसकेको थियो । यस्तो पनि जीवन हुँदो रहेछ, आफ्नो जीवन आफैंका लागि समेत नहुने रहेछ भन्ने अनुभव भयो । खासगरी स्वास्थ्य क्ष्ँेत्रमा खटिने स्वास्थ्यकर्मीहरु कतिसम्म अफ्ट्यारो अवस्थामा काम गर्नु पर्छ भन्ने एउटा उदाहरण पनि हुनसक्छ । म आफैं मेन्स्ट्रल हेल्थको बारेमा शिक्षँ दिइरहेको मान्छे, आफैं सात घण्टासम्म एउटै प्याडमा रहनु पर्दाको अवस्था म यहाँ वर्णन समेत गर्न सक्दिन ।
यस्तो अफ्ट्यारो अवस्था कहिलेसम्म चल्छ होला है ?
यो कोरोना भाइरस भन्ने संक्रमण नै यति नौलो छ कि यो कहिलेसम्म चल्छ भनेर कसैले भन्दै सक्दैन । अचम्म त के छ भने यसका लक्षणहरु हरेक देशमा फरक–फरक छन् । इटालिमा भएको अवस्थामा चीनमा थिएन, चीनमा भएको अवस्था भारतमा छैन । भारतमा भएको अवस्था नेपालमा छैन । अर्थात देशैपिच्छ यसको अवस्था समेत फरक फरक छ ।
पछिल्लो समय कोरोना संक्रमण ह्वात्तै बढ्ने कारण के होला ?
हुन त लकडाउनमात्र स्थायी समाधान होइन, तर लकडाउन खुलेपछि हामीले बेवास्ता गरेका कारण बढेको हो कि जस्तो लाग्छ । मानिसहरु आफैं सचेत नभएर यो अवस्था आएाके हो कि जस्तो लाग्छ । सामाजिक दुरी पालना नगरेकै कारण यस्तो स्थित आएको हो कि जस्तो लाग्छ । हामी आफैं केयरलेस गरिरहेका छौं । वेवास्ता गर्नाले पनि यस्तो स्थिति आएको हो ।
यसलाई रोक्नका लागि तपाईंको के–के सुझावहरु हुन सक्छन् ?
सबैभन्दा पहिला हरेक व्यक्ति सचेत हुनु पर्छ । सामाजिक दुरीको पालना गर्नु पर्छ । मास्कको प्रयोग अति नै गम्भिर भएर गर्नु पर्छ । मास्क लगाएपछि त्यसलाई पटक–पटक छुने, खोल्ने, पुनः लगाउने गर्नु हुँदैन । कम्तिमा १३ फिटको दुरी कायम गर्नु भनिएको छ । भिडभाडमा जानबाट जोगिनु पर्छ । जानै पर्दा मास्क लगाउनु पर्छ, सेनिटाइजर लगाइरहनु पर्छ । घर अँए पछि साबुन पानीले हात धुनुपर्छ । सर्जिकल मास्क लगाउने गर्नु भएको छ भने लगाएकै दिन सेनिटाइज गरेर त्यसलाई बिसर्जन गर्नु पर्छ । सर्जिकल मास्कको बाहिरी पत्रमा कोरोना भाइरस एक हप्तासम्म रहन्छ भन्ने अध्ययनले देखाएको छ ।
स्वास्थ्य सेवाले कलाकारिता क्षेत्र कत्तिको मिस हुन्छ ?
कलाकारिता मेरो रुचीको क्षेत्र हो, स्वास्थ्य चाहिं मेरो करियर । म स्वास्थ्य क्षेत्रबाट अब पछाडि फर्किन सक्दिन, समयले साथ दिएको बेला कलाकारिता क्षेत्रमा पनि काम गरिरहेकै हुन्छु । मलाई फोटोसेसन गर्न मनपर्छ, साना–ठूला विज्ञापनहरुमा काम गर्नका लागि समय निकालिरहेकी हुन्छु । कहिलेकाहिं म्युजिक भिडियोमै पनि अभिनय गर्छु । केन्द्रबिन्दु अनलाइन टेलिभिजनमा करिव एक वर्षसम्म स्वास्थ्य सम्बन्धि कार्यक्रम नै चलाएकी थिएँ । यी सबै कार्यहरु अब कोरोना संक्रमणपछि जीवन सामान्य भएपछि पुनः सुचारु हुने अपेक्षा गरेकी छु ।
अन्त्यमा, आफ्ना प्रशंसक तथा शुभचिन्तकहरुलाई के भन्न चाहनु हुन्छ ?
कोरोना नियन्त्रणका लागि सरकारले यसो गरेन, उसो गरेन भन्दा पनि हामी आफैं सचेत भयौं भने यसबाट जोगिन सकिन्छ, आफैं नै सतर्क हुनुपर्छ । अरुलाई दोष लगाएर हुन्न । जहाँ जे काम गरे पनि सुरक्षित भएर गर्नु होला भन्न चाहन्छु ।





















