गोरखा समाचारदाता
गोरखा – गोरखा बजारमा बिना मास्क हिडढुल गर्ने ५३ जना कारवाहीमा परेका छन् ।
बिहिबार सदरमुकामको विभिन्न क्षेत्रमा हिडिरहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही गरेको हो ।
लकडाउन खुकुलो भए संगै बजारमा मानिसहरुको चलहपहल बढेको छ । सावजनिक सवारी तथा पसल र सरकारी कामले आउनेहरुको संख्या पनि ह्वात्तै बढेको छ । तर संक्रमणका कारण सरकारले मास्क लगाएर मात्र घर बाहिर निस्कन गरको आग्रहलाई अटेर गरेको भन्दै आज ५३ जनालाई नियन्त्रणमा लिएर कारवाही गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
नोबल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रही रहेको भन्दै लकडाउन केही खुकुलो बनाएता पनि सबैलाई घर बाहिर निस्कदा मास्क अनिवार्य लगाउन सरकारले यस अघि नै अनुरोध गरेको थियो । यदी घर बाहिर निस्कदा मास्क नलगाएको पाइएमा संक्रमण ऐन २०२० अनुसार कारवाही गर्न प्रशासनलाई परिपत्र गरे पछि जिल्लामा पहिलो पटक उनीहरुको कारवाहीमा परेका हुन ।
पक्राउ परेको सबैले आजै संक्रमण ऐन अनुसार रु १०० जरिवाना तिरेर छुटेका जिल्ला प्रशासन कार्यालय गोरखाले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले सबैलाई घर बाहिर निस्कदा अनिवार्य मास्क लगाउन भन्दै माईकिङ गरिरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।
कोरोना भाइरस संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि समेत मास्क अनिवार्य भएको भन्दै सामाजिक दुरी कायम गर्न र घर बाहिर निस्कदा अनिवार्य मास्क लगाउन समेत प्रहरी कार्यालय गोरखाले आग्रह गरेको छ ।
नियन्त्रणमा लिएका सबैलाई प्रहरी कार्यालय परिषर भित्र सचेतना मुलक प्रशिक्षण गराईएको थियो । आज नियन्त्रणमा लिएका मध्ये १३ जना महिला र ४० जना पुरुष रहेको प्रहरी कार्यालय गोरखाले जनाएको छ ।



