गोरखा समाचारदाता
गोरखा – लामो समय सम्म पनि बिद्यालय सञ्चालनमा नआए पछि पालुङटार नगरपालिकाले टोल टोलमा नै गएर बिद्यार्थीहरुलाई पढाउने कामको थालनी गरेको छ ।
नोबल कोरोना भाइरस (कोभिड–१९)का कारण नगरपालिका भित्र रहेका बिधालयहरु सञ्चालनमा ल्याउन गारो भएको भन्दै टोल टोलमा नै शिक्षक खटाएर पढाउने कामको सुरुवात गरेको हो ।
नगरपालिकाको यो अभियानबाट शिक्षक र बिद्यार्थीहरु दुवै खुशी भएका छन् । सुरक्षाका सबै उपाय अपनाएर पढाई सुरु गरिएको अन्नपूर्ण माबिका सहायक प्रअ कमानसिं तामाङले बताए । ‘चार महिना भन्दा बढी भयो बिद्यालय बन्द भएको । बिद्यार्थीहरुलाई पनि अब त पढाई नै नहुने हो कि भन्ने लाग्न थाली सक्यो र बिद्यार्थीहरुको आनीबानी समेत परिवर्तन हुन थालेकोले टोलटोलमा नै गएर अध्यापन गराउन थालिएको’ तामाङले बताए ।
पढाउनु केही दिन अघि नै बिद्यार्थीहरुको संख्याको आधार र आवश्यताको आधारमा केन्द्र स्थापना गरि सुरु गरिएको स्कुल प्रशासनले जनकारी दिएको छ । अहिले बिधालयले ७ वटा केन्द्र बनाएर पढाउन सुरु गरेको छ ।
नगरपालिकाले रेडियो र टेलिभिजनमा सिकाउदा बिद्यार्थीहरुलाई प्रभाविकारी सिकाई नहुने भन्दै सबै स्कुललाई आफ्ना बिद्यार्थीहरु भएको स्थानमा गएर पढाउन भने पछि अहिले प्राय स्कुलहरुले सुरु गरेका छन् । पढाउनका लागि सामुदायिक भवन, बनको भवन वा महिला समुहको भवन तथा पायक पर्ने बिधालयको भवनलाई प्रयोगमा ल्याईएको छ ।
तस्विर सौजन्य : सन्तोष पोखरेल



