गोरखा समाचारदाता
गोरखा – गोरखा नगरपालिकाको छैटौं नगर सभा सम्पन्न भएको छ ।
नगर सभाले संघ, प्रदेश र आन्तरिक श्रोत सहितको करिब १ अर्ब बजेट बिनियोजन गर्दै सम्पन्न भएको हो ।
गोरखा नगरपालिकाको सभा हलमा भएको नगर सभाले ९९ करोड ४३ लाख ५१ हजार ७२१ रुपैयाँ बजेट बिनियोजन गरेको छ । नगर सभामा उप प्रमुख बिनाकुमारी श्रेष्ठले कुल बजेट मध्ये ३७ करोड ९४ लाख ६१ हजार रुपैयाँ चालु तर्फ र ६१ करोड ४८ लाख ९० हजार ७२१ रुपैयाँ पुँजीगत तर्फ बजेट बिनियोजन गरिएको जानकारी दिए ।
नगर सभामा बजेट प्रस्तुत गर्दै उप प्रमुख श्रेष्ठले आर्थिक बर्ष ०७७/०७८ मा कृषि क्षेत्रको आधुनिकरण, ब्यावसायीकरण, यान्त्रीकरण र आधुनिक प्रविधिको उपायोग गरी कृषि उद्यमशिलताको बिकास गरिने, पर्यटन पूर्वाधारको विकास तथा प्रवद्र्वन, भौतिक पुर्वाधार र शिक्षा विकासमा उत्त रकमहरु खर्च गरिने जानकारी दिए ।
नगरको १४ वडालाई ९० लाख रुपैयाँका दरले बजेट बिनियोजन गरिएको छ । वडाले नगरपालिकालाई सिफारीस गरे बमोजिम पूर्वाधार बिकास, बातावरण तथा विपद ब्यवस्थापन, सुशासन, कृषि, स्वास्थ्य, शिक्षा, पशु, क्षमता विकास, सामाजिक विकास र पर्यटनमा बजेट बिनियोजन गरेको नगर सभामा जानकारी गराईएको थियो ।
नगर सभाले न्यायिक समिति तर्फ २४ लाख, सहकारी तथा सुशासन तर्फ २३ लाख, राजश्व सुधार तर्फ ९ लाख, सुचना प्रविधि तर्फ ४५ लाख, कृषि तर्फ १ करोड ३५ लाख, शिक्षा तर्फ २ करोड ५५ लाख ४३ हजार, आयुर्वेद तर्फ १३ लाख ५० हजार, वातावरण तथा बिपद ब्यवस्थापन तर्फ ८० लाख र सामाजिक विकास तर्फ १ करोड ५९ लाख रुपैयाँ बिनियोजन गरेको छ ।
त्यस्तै गरी नगर सभाले स्वास्थ्य तर्फ १ करोड ६५ लाख, योजना तथा नक्सा पास तर्फ ६१ लाख ५० हजार, पशु सेवा तर्फ ५५ लाख ७२ हजार, जिन्सी तथा कार्यालय ब्यवस्थापन तर्फ ४० लाख गरी १० करोड ६६ लाख ७१ हजार रुपैया बिनियाजन गरेको छ ।
नगर सभाले नगरस्तरिय योजनाको लागि समेत ११ करोड ४१ लाख ७० हजार रुपैयाँ बजेट बिनियाजन गरेको छ । जस अन्तरर्गत प्रकोप ब्यवस्थापन तर्फ १ करोड, मर्मत संभारत तर्फ ३५ लाख, पर्यटन प्रवद्र्वन तर्फ ७५ लाख, स्टोन पार्कका लागि ५० लाख, पश्चिमकाली चिल्ड्रेन पार्कका मैदान सडकका लागि ५० लाख, विभिन्न मठ मन्दिर र भवन निर्माणका लागि १ करोड ८५ लाख, मानव सेवा आश्रम भवन निर्माणका लागि २० लाख, फुटपाथ र बाटो ढलान, ट्रेनिङ सेन्टर निर्माण, खानेपानी पाईप खरिद, तारजाली खरिद, खेल मैदान निर्माण, होम स्टे प्रवद्र्वन, भ्यू टावर तथा सिढी निर्माणका लागि ६ करोड २६ लाख ७० हजार रकम बिनियोजन गरिएको छ ।
छैटौं नगर सभाले ‘गोरखा नगरपालिकाको आर्थिक विधयेक २०७७’ समेत सर्व सम्मत रुपमा पारित गरेको छ । नगर सभा नगर प्रमुख राजनराज पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो ।




