गोरखा समाचारदाता
काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले नेपाली भूमी कालापानीबाट भारतीय सैनिक क्याम्प हटाउनुपर्ने बताए ।
बिहीबारको राष्ट्रियसभाको बैठकमा नक्सासम्बन्धी संविधान संशोधन विधेयकमाथिको दफावार छलफल बोल्दै नेता श्रेष्ठले ‘त्यो भूभाग हाम्रो हो । हामीलाई प्राप्त हुनुपर्छ । त्यो भूभागमा बसेको भारती सैनिक, प्रहरी, सुरक्षाकर्मीहरु सबै फिर्ता जानुपर्छ, त्यहाँ रहेका सबै प्रकारको क्याम्पहरु बन्द गरिनुपर्छ’ भने ।
नेता श्रेष्ठले लिम्पियाधुरा क्षेत्रका विषयमा देखिएका समस्या समाधान गर्ने उपाय वार्ता र संवाद नै भएको भन्दै भारत वार्ताका बस्न तयार हुनुपर्ने धारणा राखे ।
हामी वार्तामा बस्न आतुर छौं भारत पनि वार्तामा बसेर समाधान गर्न तयार हुनुपर्छ भन्दै छिटो वार्तामा बसेर नेपाल र भारतबीचको सम्बन्धलाई नकारात्मक दिशामा जान नदिन उनले भारतलाई आग्रह गरे ।
१८१६ को सुगौली सन्धिमा काली नदीको पश्चिमको भूभाग भारतलाई छोड्ने भनेको, नोभेम्बर १९१९ मा भारतले प्रकाशित गरेको नक्सामा दुई देशबीचको सीमा काली नदी देखाइएको र नेपालको कुनै पनि शासकले सुगौलि सन्धिपछि कुनै सन्धि वा सम्झौता गरेर भारतलाई जमिन हस्तान्तरण नगरेको भन्दै श्रेष्ठले सबै आधारमा लिम्पियाधुरा नेपालकै भएको प्रमाणको रुपमा उल्लेख गरे ।


