गोरखा समाचारदाता
काठमाण्डौं – ओम्नी समूहलाई स्वास्थ्य सामग्री खरिद गर्न दिएर अनियमितता गरेको काण्ड सेलाउन नपाउदै स्वास्थ्य सेवा विभागले फेरी अर्को विवादास्पद निर्णय गरेको छ ।
कानुनको उल्लघंन गर्दै विभागले बढी मुल्य प्रस्ताव गर्ने कम्पनीलाई स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा दिएको हो ।
स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता गर्दै आएको स्वास्थ्य सेवा विभागले पछिल्लो पटक ८ करोड ३४ लाख बढी रकम हालेको समूहलाई स्वास्थ्य सामाग्री खरिद गर्न दिने सहमती संगै अनियमितताको प्रमाण बाहिरीएको छ ।
विभागले दुई चरणमा खरिद गर्ने गरी ५१ करोड ८३ लाख रुपैयाँ मुल्यको सामग्री खरिद गर्दा उत्त रकम भ्रष्ट्राचार हुने देखिन्छ ।
स्वास्थ्य विभागले आह्वान गरेको बोलपत्रमा कम मूल्य प्रस्ताव गर्ने कम्पनीभन्दा ८ करोड ३४ लाख रुपैयाँ बढी मूल्य प्रस्ताव गर्ने कम्पनीलाई सामग्री खरिद गर्ने जिम्मा दिएको छ ।
सार्वजनिक खरिद नियमावलीको ठाडो उल्लघंन गरी बढी मूल्य प्रस्ताव गर्ने कम्पनीलाई सामग्री खरिद गर्न किन दिएको बिषयमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डाक्टर रमेशकुमार खनाल कुनै जवाफ नदिइ पन्छिए ।
स्वास्थ्य सेवा विभागले १ लाख ५० हजार आरटी पिसिआर किट र १ लाख ५० हजार आरएनए एक्स्ट्रयाक्सन किट खरिद गर्न ओम सर्जिकल कन्सर्न प्रालिलाई २४ करोड ८१ लाखमा ठेक्का दिएको छ ।
प्रतिस्पर्धामा रहेका अन्य ११ कम्पनीले ओम सर्जिकलभन्दा सस्तोमा किट उपलब्ध गराउने प्रस्ताव गरेका थिए ।
यो प्रकरणले पनि पुनः संसदमा प्रवेश पाउने र एक पटक सरकारी संयन्त्रकै मिलोमतोमा भ्रष्ट्राचार गरेको कुरा चर्चामा आउने पक्का भएको छ ।




















