गोरखा समाचारदाता
रुकुम – रुकुम (पश्चिम)को चौरजहारी नगरपालिकाले पीसीआर मेशिन खरिद प्रकृयाको थालनी गरेको छ ।
जिल्लामै व्यक्तिको थ्रोट स्वावमार्फत कोरोना जाँच गर्ने गरी नगरपालिकाले आरटी पीसीआर मेशिन खरीद प्रक्रिया अगाडि बढाएको हो ।
कोरोना भाइरस भए÷नभएको पत्ता लगाउने भरपर्दो पीसीआर मेशिन खरीदका लागि नगरपालिकाले १ करोड ३५ लाख छुट्टाई सकेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले पिसिआर मेशिन सेटअप तथा रि–एजेन्ट खरीदसम्बन्धी सूचना प्रकाशन समेत गरी सकेको छ ।
तीन दिनभित्र आउने गरी प्रस्ताव आह्वान गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए ।
नगरपालिकाले प्रयोगशाला स्थापना गर्ने योजना समेत रहेको केसीले बताए ।


