गोरखा समाचारदाता
गोरखा – मन्त्रि परिषदको बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय संगै गोरखामा सवारी साधनको चाप बढेको छ । तर असार १ गते देखि जोर विजोर प्रणालीलाई कडाईका साथ पालना गराउने भएको छ ।
सडकमा सवारी चाप बढे संगै गोरखामा असार १ गते देखी सवारी साधानलाई कडाईका साथ चेक जाँच गरिने भएको हो ।
जोरबिजोरको अन्यौलका कारण आज सम्म जे जति सवारी संञ्चालनमा आएको भएता पनि भोली असार १ गते देखी जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउन सडकमा प्रहरी तैनाथ गरिने जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
भोलीबाटै सवै चारपाग्रें र मोटरसाईकलको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गर्न लगाउने जिल्ला ट्राफिक प्रहरी कार्यालयले योजना तय गरेको छ । चारपांग्रे निजी सवारीसाधनको हकमा चालकसहित थप २ जना र मोटरसाइकलमा एक जना त्यो पनि चालकमात्रै यात्रा गर्न पाउनेछन् ।
गृह मन्त्रालयले यसबारे स्पष्ट गर्दै जोर–बिजोर प्रणाली लागू गर्न मातहतका निकायलाई आजै निर्देशन दिई सकेको छ । जोर विजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर र विजोर गतेका दिन विजोर नम्बरका निजी सवारी साधन चलाउन पाइने छ ।
तर गृहको सर्कुलरअनुसार उपत्यकाको तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरलाई एक जिल्ला मानी जोर विजोर प्रणाली लागू गरिएको छ । यसबाहेक एक जिल्लाबाट अर्को जिल्लामा जान भने निषेध गरिएको छ ।




















