एजेन्सी – चीनको राजधानी बेइजिङमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि कडा लकडाउन लागू गरिएको छ । ५० दिनयता फेरि केही मानिसमा संक्रमण पुष्टि भएपछि केही क्षेत्रमा लकडाउन लागू गरिएको हो ।
शहरको सबभन्दा ठूलो सिनफडि बजारका ५१७ जनाको परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएपछि लकडाउन लागू गरिएको हो । आज चीनमा ५७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । चीनको नेसनल हेल्थ कमिसनका अनुसार ३८ संक्रमितहरु स्थानीय संक्रमितबाट बिरामी परेका हुन् । जसमध्ये ३६ संक्रमित बेइजिङका हुन् ।
संक्रमित बढेपछि बजार र वरिपरिका ११ वटा क्षेत्रमा लकडाउन गरिएको छ । बजारमा काम गर्ने दश हजार कर्मचारीको परीक्षण थालिएको छ । ५० दिनपछि बेइजिङमा पहिलोपटक संक्रमित भेटिएका हुन् । बेइजिङको तरकारी र मासुको मागको असी प्रतिशत उपलब्ध गराउने सिनफडि बजार कसरी संक्रमण फैलियो भन्ने खुलेको छैन ।
बेइजिङमा स्थानीयबाट स्थानीयमा कोरोनाको खतरा बढेपछि युद्धस्तरमा त्यहाँ कोरोनाविरुद्धको उपाय अबलम्ब गरिएको बताइएको छ । संक्रमण पुष्टि भएपछि बेइजिङभरि नै खेलकुद कार्यक्रमहरू रद्द गरिएका छन् । मुख्य सार्वजनिक सेवा केन्द्रहरू बन्द गरिएका छन् ।
राजधानीमा संक्रमणको दोस्रो लहरको त्रास फैलिने ठानिएको छ । वुहान शहरमा सबभन्दा पहिले कोरोना भाइरस संक्रमण सुरु भएयता संसारकै कडा लकडाउन उपायहरू अपनाएर चीनले महामारी नियन्त्रणमा लिएको थियो । चीनमा संक्रमणवाट ४ हजार ६ सय मानिसको मृत्यु भएको छ ।




















