गोरखा समाचारदाता
काठमाण्डौं – कतारबाट नेपाल आउने ५ हजार बढी नेपालीको नाम नेपाली राजदूतावासले सार्वजनिक गरेको छ ।
दुताबासले ५ हजार ११२ जना नेपालीहरुको नाम सार्वजनिक गरेको हो ।
नोबल कोरोना भाइरस (कोभिड–१९)का कारण कतारमै रोकिएका नेपालीहरुलाई नेपाल पठाउन लागिएको दूतावासले जनाएको छ ।
दोहामा रहेको नेपाली राजदूतावासले आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानु पर्ने, सुत्केरी तथा गर्भवती महिला, कोभिड–१९ बाहेक अन्य कारणले गम्भिर स्वास्थ्य समस्या भएका बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अध्ययन समाप्त भएका विद्यार्थी, इन्टर्न सकेर बसेका बिद्यार्थीहरु, पारिवारिक पुनर्मिलनका लागि आएका, पर्यटक तथा व्यापारिक भिसामा कतारमा रहेकाहरुलाई नेपाल ल्याउन लागिएको नेपाल सरकारले जनाएको छ ।
त्यस्तै गरी कतारमा रहेर करार अवधि सकिए, रोजगारी गुमाएका, कतार आईडी र भिसा समाप्त भएका वा आईडी रद्द भएका, बेतलबी बिदामा रहेकाहरुलाई पहिलो चरणमा नेपाल ल्याउन लागिएको हो ।
प्राविधिक कारणहरुले उडानको मिति हेरफेर नभएमा कतारमा नाम सार्वजनिक भएका ब्यक्तिहरुलाई १६ र २० जुन २०२० मा नेपाल एयरलाइन्सका २ उडानहरु र १७ र २२ जुन २०२० मा हिमालय एयरलाइन्सका २ उडानहरुबाट नेपाल ल्याईने छ ।
टिकटको मूल्य व्यक्ति स्वयंले व्यहोर्नु पर्ने र हवाई टिकटको मूल्य ४९० अमेरिकी डलर तोकिएको छ ।




















