गोरखा समाचारदाता
सर्लाही – सर्लाहीको पर्सा गाँउपालिकामा भारतीय नागरिकले आक्रमण गर्दा सशस्त्रको गोली लागेर एक भारतीयको ज्यान गएको छ ।
पर्सा गाँउपालिका वडा नं ३ नारायणपुरमा रहेको पोष्टमा आक्रमण गर्न आएका करिव २०० को संख्या भारतीयले शसत्रलाई आक्रमण गरे पछि चलाएको गोलीबाट भारतीय नागरिकको ज्यान गएको हो ।
भारतीय समूहले सिमामा खटिएका शसत्र प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि गोली चलाएको थियो । प्रहरीको गोली लागेर एक जना भारतीय नागरिकको ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ ।
गोली लागेर अन्य २ जना घाइते भएका छन् । १ जना भारतीयलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । उनी सशस्त्र प्रहरीको हतियार खोस्न खोज्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीतर्फ ३ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सशस्त्र प्रहरी हवल्दार सञ्जय राय, भुपेन्द्र पौडेल र रविन्द्र बैठा रहेका छन् । उनीहरुको सर्लाहीमा उपचार भइरहेको छ । भारतीयले हतियार खोस्न खोजेपछि प्रहरीले १५ राउण्ड गोली चलाएको शसत्र प्रहरीले जनाएको छ ।
आज (शुक्रबार) बिहान ४ जनाको समूहमा आएका भारतीय ब्यापारी जर्वजस्ती नेपाल छिर्न खोजेका थिए । सशस्त्रले उनीहरुलाई रोकपछि नजिकैको गाँउका मानिसहरु बोलाएर उनीहरुले सशस्त्रमाथि आक्रमण गराइको बताइएको छ ।
कोरोना संक्रमणपछि सीमा नाकामा हुने अवैध आवतजावत रोक्न सशस्त्र प्रहरी परिचालन गरिएको छ । भारतीय नागरिकलाई नेपाल छिर्न रोक लगाएपछि यसअघि पनि बारा, पर्सा, झापा लगायतका जिल्लामा सशस्त्र प्रहरीमाथि आक्रमणको प्रयास भएको थियो ।
घटना लगत्तै सिमामा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।




















