गोरखा समाचारदाता
गोरखा – गोरखा नगरपालिकाले कोरोना रोकथामका लागि गरिएको खर्च सार्वजनिक गरेको छ ।
नगरपालिकाले पत्रकार सम्मेलन गर्दै खर्च सार्वजनिक गरेको हो ।
खर्च सार्वजनिक गर्दै गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले ‘कोरोना रोकथामका लागि भएको खर्च पारदर्शी हिसाबले भएको’ बताए । उनले ‘बजारमा नगरपालिकाको खर्च अपारदर्शी भएको भन्दै जनगुनासा आएकोले त्यस्ता प्रमाण फेला परे नगरपालिकामा बुझाई दिए सम्वन्धीत कर्मचारीलाई कारावाही गर्ने’ समेत बताए ।
खर्च विवरण सुनाउदै मेयर पन्त
पत्रकार सम्मेलनमा कोरोना कोषमा जम्मा भएको मध्ये हाल सम्म ६२ लाख २५ हजार ६८५ रुपैयाँ खर्च भएको मेयर पन्तले जानकारी दिए ।
कोषमा नगरपालिका आफैल ८० लाख, प्रदेश सरकार मार्फत १० लाख, नगरपालिकाकै आन्तरिक श्रोतको आकश्मिक कोषको अ.ल्या.७ लाख ४७ हजार तथा विभिन्न संघ संस्था तथा कर्मचारीहरुबाट प्राप्त रकम गरी १ करोड ८ लाख ९० हजार ४८५ रुपैयाँ उठेको मध्ये खर्च कटाएर ४६ लाख ६४ हजार ८०० कोषमा रहेको समेत नगरपालिकाले जनाएको छ ।
कोषबाट नगरपालिकाले राहतका लागि दाल, चामल, तेल, नुन जस्ता सामाग्री वितरणमा ४४ लाख ४३ हजार ३७४ रुपैयाँ खर्च गरेको छ । त्यस्तै गरी स्वास्थ्य सामाग्री तथा क्वारेन्टाइन निर्माण र त्यहाँ बस्नेलाई खाना तथा खाजा खर्च र क्वारेन्टाइनमा खटिएका कर्मचारीहरुको लाग बाँकी पैसा खर्च गरेको छ ।
नगरपालिकाले स्वास्थ्य सामग्री मात्रै १५ लाख बरावरको खरिद गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।





















