गोरखा समाचारदाता
गोरखा – नोबल कोरोना भाइरस (कोभिड–९)का कारण विदेशमा रहेका गोरखार्लीहरु फर्कने क्रम जारी छ ।
विदेशबाट फर्कने सबै नागरिकमा कोरोना संक्रमण नभएता पनि केहीमा भने देखिन थाले पछि त्यस्ता संक्रमित ब्यक्तिहरुलाई ब्यवस्थापन गर्नका लागि जिल्लाका सबै पालिकाहरुले ५ लाखका दरले सहयोग उपलब्ध गराई जिल्ला स्तरीय कोभिड–१९ ब्यवस्थापन कोष खडा गरेका हुन् ।
भारत लगायत तेस्रो देशबाट आउने नागरिकलाई संक्रमण भएको खण्डमा सो कोषबाट उपचार तथा अन्य ब्यवस्थानको खर्च गरिने छ । सोमबार जिल्ला स्तरिय कमाण्ड पोष्टले राखेको सर्व पक्षिय भेलामा सहभागि २ नगरपालिका र ९ गाउँपालिकाका अध्यक्ष एवं प्रतिनिधिहरुले कोष सञ्चालनका लागि आइसोलेशन एवं कोष ब्यवस्थापन समिति समेत गठन गरेको छ ।
जसमा कोषको संयोजक जिल्ला समन्व्य समितिका प्रमुख रहने ब्यवस्था गरिएको छ भने सदस्यहरुमा जिल्ला भित्रका ११ स्थानिय पालिकाका प्रमुख रहेका छन । समितिमा जिल्ला प्रशासन कार्यालय गोरखाका सहायक प्रमुख जिल्ला अधिकारीलाई समेत राखिएको छ ।
कोषको सञ्चालन भने कोलेनिकाले तोकेको लेखापाल र कोषका सदस्य सचिवले गर्ने सहमती भएको छ ।
बैठकले क्वारेन्टाइन र आइसोलेशन ब्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक र सवारी चालकलाई स्वास्थ्य सामाग्री सोही कोषबाट ब्यवस्थापन गर्ने सहमती भएको छ ।


