गोरखा समाचारदाता
काठमाण्डौं – विश्व स्वास्थ्य संगठन डब्लुएचओले भीडभाड र सार्वजनिक स्थलमा जाँदा अनुहार छोप्ने मास्क प्रयोग गर्न सुझाव दिएको छ ।
कतिपय देशले कोरोना नियन्त्रणमा आउन थालेको भन्दै यसअघि लगाइएका प्रतिबन्ध र लकडाउन खुकुलो पारेसँगै डब्लुएचओले मास्क सम्बन्धी निर्देशिका जारी गरेको हो ।
उसले मास्कका सम्बन्धमा आफ्नो सुझाव परिवर्तन गरी सार्वजनिक स्थानमा जाँदा मास्क लगाउन सबैसँग आग्रह गरेको हो । डब्लुएचओले यसअघि स्वस्थ मानिसले मास्क लगाउनु नपर्ने भन्दै मास्क लगाएमा संक्रमणबाट जोगिन्छ भन्ने पर्याप्त प्रमाण प्राप्त नभएको जनाएको थियो ।
परिमार्जित सुझावमा सामाजिक दूरी कायम गर्न नसकिने स्थानमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने उल्लेख छ । लक्षण देखिनुअघि नै कोरोनको संक्रमण हुन सक्ने भन्दै डब्लुएचओले मास्क लगाएर कोरोनाका भाइरस फैलावटलाई केही हदसम्म रोक्न सकिने उसको भनाइ छ ।
डब्लुएचओले स्वास्थ्यकर्मी र संक्रमितहरुले समेत मेडिकल मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने बताएको छ । विश्वका केही देशहरुले यसअघि नै सार्वजनिक स्थानमा जाँदा मास्क अनिवार्य रुपमा लगाउनु पर्ने नियम नै लागु गरेका छन् ।


