गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)का कारण नेपालमा महिला भन्दा पुरुष बढी संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार महिला भन्दा पुरुष १३ गुणाले संक्रमित देखिएका छन् ।
मन्त्रालयले सनिबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार आज (सनिबार)सम्म नेपालमा ३ हजार २३५ जना संक्रमित फेला परेको छ । जस मध्ये पुरुष ३ हजार ३ जना रहेका छन् भने महिला २३२ जना मात्र रहेका छन् ।
पछिल्लो २४ घण्टामा देखिएको ३२३ जनामा देखिएको कोरोना भाइरसको संक्रमण मध्ये २८६ जना पुरुष र ३७ जना महिला रहेका छन् ।
९२ हजार बढीलाई पिसिआर र १ लाख ३७ हजार भन्दा बढीलाई आरडिटी परिक्षण
नेपालमा अहिले सम्म कोरोना भाइरसको आशंकामा कुल ९२ हजार ४७७ जनालाई पीसीआर परीक्षण भएको छ । त्यस्तै १ लाख ३७ हजार ४३५ जनालाई आरडिटी परीक्षण भएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ४ हजार १११ जनामा पीसीआर परीक्षण भएको छ भने ५ हजार ५७० जनामा आरडिटी परीक्षण भएको छ ।
१ लाख ६८ हजार भन्दा बढी क्वारेन्टाइनमा
देशभर १ लाख ६८ हजार ३१ जना क्वारेन्टाइनमा रहेका छन् ।
जसमध्ये प्रदेश १ मा ४ हजार ३०३ जना, प्रदेश २ मा २१ हजार ९२ जना, बागमती प्रदेशमा ३ हजार ५१३ जना, गण्डकी प्रदेशमा ५ हजार ३९८, प्रदेश ५ मा ४१ हजार २१७, कर्णाली प्रदेशमा ३२ हजार २६५ जना र सुदूरपस्चिम प्रदेशमा ६० हजार २४३ जना क्वारेन्टाइनमा रहेका छन् ।
आइसोलेसनमा करिब ३ हजारको उपचार हुदै
देशभर २ हजार ८५७ जना संक्रमितको आइसोलेसनमा उपचार भइराखेको छ ।
जस मध्ये प्रदेश १ मा १७० जना, प्रदेश २ मा ९४३ जना, बागमती प्रदेशमा ५५ जना, गण्डकी प्रदेशमा ७० जना, प्रदेश ५ मा ९६१ जना, कर्णाली प्रदेशमा ५६७ जना र सुदूरपस्चिम प्रदेशमा ९१ जनाको आइसोलेसनमा उपचार भइराखेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


