गोरखा समाचारदाता
काठमाण्डौं – कोरोना भाइरस संक्रमणबाट थप २ जनाको ज्यान गएको छ ।
डोल्पा र धनगढीमा गरी २ जनाको ज्यान गएको हो । यो सहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डोल्पाको जगदुल्ला गाउँपालिकाका ५८ वर्षीय पुरुष र धनगढी ४ की ५५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।
डोल्पा जगदुल्ला गाउँपालिकाका ५८ वर्षीय पुरुषको जेठ २१ गते ज्यान गएको थियो । जेठ १६ गते सुर्खेतबाट डोल्पा पुगेका उनलाई १८ गतेदेखि क्वारेन्टाइनमा राखिएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए ।
दमका रोगी उनको निधनपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टी भएको हो ।
यस्तै मिर्गौलाको समस्या भएकी ५५ वर्षीया महिलाको धनगढीको सेती अस्पतालमा डायलासीस गराउँदै गर्दा शुक्रबार ज्यान गएको थियो । उनको पनि ज्यान गए पछि पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


