गोरखा समाचारदाता
पोखरा – गण्डकी प्रदेशमा आज बिहानै १७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्याङजा, कास्की, पूर्व नवलपरासी र बागलुङमा गरी १७ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा.विनोदविन्दु शर्माले दिएको जानकारी अनुसार स्याङ्जामा १०, कास्की र पूर्वीनवलपरासीमा ३÷३ जना तथा बागलुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको सूचना अनुसार स्याङ्जाको वालिङ नगरपालिकामा ८ जना पुरुष र हरिनास नगरपालिकामा २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
कास्कीको रुपा गाउँपालिकाका २ जना पुरुष तथा पोखरा महानगरपालिकामा १ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै गरी नवलपरासीको बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिकामा ३ जना पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय जनाएको छ ।
उनीहरु भारतबाट आएर विनयत्रिवेणीकै क्वारेन्टाइनमा बसेको जनाइएको छ । सबैलाई रजहरको सामुदायिक प्राकृतिक चिकित्सालयमा ल्याएर राखिएको छ ।
यस्तै बागलुङको ताराखोला गाउँपालिकामा १ पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
कोरोना संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनीहरु सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।




















