गोरखा समाचारदाता
काठमाण्डौं – लकडाउनका कारण यूएई र म्यानमारमा अलपत्र परेका नेपाली नागरिकहरुलाई आजबाट ल्याईने भएको छ ।
पहिलो चरणमा आज (शुक्रबार) यूएई र म्यानमारमा रहेका नेपालीहरुलाई ल्याउन लागिएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार यूएईबाट १७९ जना र म्यानमारबाट ३५ जना गरी २१४ जनालाई आज ल्याउन लागिएको छ ।
म्यानमारले आफ्ना नागरिक लिन आउने विमानमै नेपालका ३५ जनालाई ल्याइदिने भएको हो भने यूएईले आजबाट ८ वटा चार्टर फ्लाइटमा नेपालीलाई फर्काउन लागेको हो । यूएईबाट मात्रै ४ हजार नेपाली फर्कने तयारीमा छन् ।
कुवेतममा रहेका करिब ३ हजार श्रमिकलाई पनि त्यहीको सरकारले नेपाल पठाइदिने भएको छ । आममाफी पाएका कामदारलाई कुवेत सरकारले फिर्ता गर्ने भएको हो । कुवेतबाट करिब ५ हजार नेपाली घर फर्कने प्रतिक्षामा रहेका छन् ।
पहिलो चरणमा सरकारले समस्यामा रहेका करिब ४० हजार नागरिकलाई स्वदेश फर्काउने तयारी गरेको छ । कुवेत र साउदी अरेबियाबाट ८÷८ हजार कामदार फर्कने तयारीमा छन् । कतारबाट ११ हजार, मलेसियाबाट ७ हजार र साइप्रसबाट ४०० कामदार फर्कने सुचीमा छन् ।
त्यस्तै अध्ययनको शिलशिलामा रहेका १५ सय बढी विद्यार्थीहरु स्वदेश फर्किन तयार छन् । एक दिनमा एक मुलुकमा एक उडान गरी १० वटा उडानमार्फत् उद्दार गर्ने सरकारको तयारी छ । नेपाल वायुसेवा निगमका ४ र हिमालयन एयरलाइन्सका ४ वटा विमान उद्धारका लागि तयार गरिएको छ ।
विमानस्थलमा ओर्लेपछि भक्तपुर, ललितपुर र काठमाडौंका ९ वटा पार्टी प्यालेसमा उनीहरुलाई राख्ने तयारी छ । त्यसपछि स्थानीय तह र प्रहरीको सहयोगमा उनीहरुलाई सम्बन्धित जिल्लाहरुमा पठाइने छ ।




















