गोरखा समाचारदाता
काठमाण्डौं – नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले आजदेखि पसल र व्यवसाय खुला गर्ने निर्णय गरेको छ ।
लामो लकडाउनले पसले र ब्यवसायी मर्कामा परेको भन्दै बिहान ११ बजे सम्म दैनिक पसल र ब्यवसाय खुल्ला गर्न देशै भरका ब्यवसायीहरुलाई आग्रह गरिएको हो ।
लकडाउन लम्बिँदै जाँदा व्यापारी तथा व्यवसायी पेसाबाटै पलायन हुने र रोजीरोटी नै गुम्ने अवस्था आएको भन्दै महासंघले आज (बिहीबार)देखि बिहान ११ बजेसम्म पसल तथा व्यवसाय खुला गर्ने निर्णय गरेको अध्यक्ष नरेश कटुवालले बताए । उनले ‘पसल खोल्न नदिइए राज्यलाई तिर्ने कर, घरभाडा र कर्मचारीको तलबको जिम्मा सरकारले लिनुपर्ने’ बताए ।
महासङ्घले सरकारले लकडाउनलाई निरन्तरता दिएको, लकडाउन खुलाउने पहल नगरेको तर कर तिर्न भने ताकेता गरिरहेको अवस्थामा रहरले नभइ बाध्यताले यस्तो निर्णय गर्नुपरेको जनाएको छ ।
बजार पसल खुला भए पनि कोरोनाको जोखिम कम गर्न न्यूनतम दुरी कायम गर्ने, मास्क र स्यानिटाइजर प्रयोग गर्नेलगायत विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले भनेको मापदण्ड अनुसारको सावधानी अपनाउन महासङ्घले अनुरोध गरेको छ ।



