गोरखा समाचारदाता
काठमाण्डौं – सरकारले लकडाउनको मोडल परिर्वतन गर्ने गृहकार्य थालेको छ ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको मोडल परिर्वतन गर्ने सन्दर्भमा मंगलबार सिंहदरबारमा निजी क्षेत्रका सबै पेशा व्यवसायका छाता संगठनका प्रतिनिधिसंग छलफल गरेको हो ।
छलफलमा सहभागी विभिन्न पेशा व्यवसायका छाता संगठनका प्रतिनिधिले अर्थतन्त्र चलायमान बनाउनेबारे तत्काल नसोच्ने हो भने कोरोना भाइरसले निम्त्याउने समस्याभन्दा भोकमरीको समस्या विकराल हुने भन्दै उद्योग संञ्चालनको व्यवस्था मिलाउन आग्रह गरे ।
छलफलपछि प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले नागरिकलाई सुरक्षित राख्दै व्यवस्थीत रुपमा अघि बढाउन छलफल गरि सुझाव मागिएको जानकारी दिए । उनले बिभिन्न क्षेत्रबाट प्राप्त भएका सुझावलाई अध्ययन गरि उपयुक्त मोडालिटि तयार पार्ने बताए ।
सवै तह र तप्कासंग छलफल गरेर आवश्यक निर्णयमा पुग्ने उच्चस्तरीय समितिको तयारी छ । बन्दाबन्दीको अवस्थालाई सरलिकृत गर्नेमा समिति अघि बढेको सदस्यहरुले बताएका छन ।
उद्योगी ब्यवसायीहरुले भने लकडाउन लम्बिदै जाँदा उत्पादन, बजार, उत्पादन कार्यमा सहभागी मजदुर, लगानीकर्ता सबै प्रभावित हुने भन्दै लकडाउन खुलुलो पारेर क्षेत्रगत वर्गिकरण गरी उद्योग खोल्ने वातावरण मिलाउन सुझाव दिएका छन ।
जोखिमको स्तर हेरेर क्षेत्रगत रुपमा समय समेतको व्यवस्थापन गरि अर्थतन्त्र चलायमान बनाउनुपर्ने सुझाव पनि नीजि क्षेत्रको छ ।




















