काठमाडौं – नापी विभागले लिम्पियाधुरा, कालापानी तथा लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा भित्तामा राख्न सोमबार सर्वोच्च अदालत पठाएको छ । सर्वोच्च अदालतको भित्तामा राख्नका लागि पाँच थान नयाँ नेपालको नक्सा विभागले न्यायालयमा पठाएको हो । ती नक्सालाई सोमबार नै भित्तामा टाँसिएको छ ।
सर्वोच्च अदालत स्रोतले दिएको जानकारीअनुसार पाँचवटा नक्सामध्ये एउटा प्रधानन्यायाधीशको कार्यकक्षमा, अर्को मुख्य रजिस्ट्रारको कोठामा टाँसिएको छ । बाँकी तीनवटा अन्य कोठामा टाँसिने जनाइएको छ । यसअघि नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक तथा कालापानी समेटिएको थिएन । ती तीन क्षेत्रबाहेकका नक्सा वर्षौंदेखि नेपालका विभिन्न कार्यालयमा टाँसिँदै आएको थियो ।
ती तीन क्षेत्र समेटिएर केही दिनअघि मात्र मन्त्रिपरिषद्ले नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो । उक्त निर्णयबमोजिम भूमि सुधारमन्त्रीले नयाँ नक्सालाई बाहिर ल्याउनुभएको थियो । भूमि सुधारमन्त्रीले उक्त नक्सा सार्वजनिक गर्नासाथ विभिन्न कार्यालयमा त्यस्तो नक्सा टाँस्न शुरू गरिएको थियो । न्यायालयमा मात्र केही ढिलो गरी उक्त नक्सा पठाइएको हो ।
‘ढिलो भए पनि अदालतमा नयाँ नक्सा भित्तामा टाँसिएको छ । यसले गर्दा न्याय दिने ठाउँमा पनि लिम्पियाधुरा, लिपुलेक तथा कालापानी समेटिएको नक्सा भित्तामा झुन्डिएको देख्दा रमाइलो लाग्ने रहेछ ।


