गोरखा समाचारदाता
पोखरा – गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत भएको छ ।
आज (आईतबार) सरकारकातर्फबाट प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख शेरचनले गण्डकी प्रदेशलाई सभ्य, सुसंस्कृत प्रदेशका रूपमा विकास गर्दै अघि बढ्ने नीति सरकारले लिएको बताए ।
नीति तथा कार्यक्रममा कोभिड १९ विरुद्धको लडाइमा ध्यान केन्द्रित गर्ने जनाइएको छ । उनले कोरोना महामारी विरुद्ध लड्न प्रदेशस्तरको अत्याधुनिक प्रविधियुक्त संक्रामक तथा सरुवा रोग अस्पताल निर्माण गर्ने सरकारको नीति तथा कार्यक्रमममा समेटिएको बताए ।
समृद्ध प्रदेश सुखी नागरिकको नारा लिएर सरकार अघि बढिरहेको बताउँदै प्रदेश प्रमुख शेरचनले स्वास्थ्य क्षेत्र सुदृढिकरणको मुख्य उद्देश्य राखिएको बताए ।
विपन्न परिवारका लागि सुपथमुल्य कार्ड वितरण, एक स्थानीय तह एक उद्योग ग्राम, एक सहकारी एक उत्पादन, स्याउ सुपर जोन लगायतका कार्यक्रमहरु नीति तथा कार्यक्रममा समेटिएको छ ।
त्यस्तै एक पालिका एक उत्पादन, सबै नागरिकलाई स्वास्थ्य बीमामा समावेश गराउने, बहु क्षेत्रीयपोषण सुधार कार्यक्रम पनि प्रदेशमा सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
पूर्ण पाठसहित




















