गोरखा समाचारदाता
गोरखा – भारतीय नाकाबाट जिल्ला भित्रनेहरुलाई बिना परिक्षण सम्वन्धीत गाउँपालिका जान दिदाँ जोखिक बढेको छ ।
भारतका विभिन्न शहरबाट बैशाख २५ गते यता भित्रनेलाई सम्वन्धीत पालिका जान दिईए पछि जोखिम बढेको हो ।
रोजगारीका लागि भारतका विभिन्न शहर गएकाहरू आउने क्रम अझै जारी छ । बैशाख २५ गतेदेखी जेष्ठ १६ गते सनिबार सम्म १२९ जनाले गोरखा प्रवेश गरेको कोरोना भाइरस (कोडिभ–१९)को रोकथाम, नियन्त्रण र ब्यवस्थापनको लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्ट गोरखाले जनाएको छ ।
पछिल्लो समय जिल्ला प्रवेश गर्ने सबैलाई गोरखा नगरपालिकाले स्थापना गरेको क्वारेन्टीनमा राखेर एक वा दुई दिन पछि मात्र सम्वन्धीत पालिकालालाई जिम्मा लगाउन थालिएको छ । ‘सिमानाका देखी गोरखा सम्म आउनेहरुलाई सवारी साधान मार्फत सिधै मझुवा देउरालीमा ल्याउने गरिएको छ । कुन पालिकाको कति मानिस छ भन्ने कुरा यंकिन गरेर धेरै भएमा तत्कालै र थोरै भएका १/२ राख्छौ र सम्वन्धीत पालिकालाई जिम्मा लगाउने काम गर्छौ’ भन्छन् कोरोना भाइरस (कोडिभ–१९)को रोकथाम, नियन्त्रण र ब्यवस्थापनको लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्ट गोरखाका सल्लाहकार एवं गोरखा नगरपालिकाका मेयर राजनराज पन्त । ‘सम्बन्धीता पालिकामा रहेको क्वारेन्टीनमा बसेको ७ देखी १० दिन भित्र मात्र पिसिआर परिक्षण गरिने र नेगेटिभ देखिए १४ दिन पछि घर जान स्विकृती दिने’ निर्णय भएको उनले बताए ।
प्रशासनले उपलब्ध गराएको रेकर्ड तनहुँ र गोरखा जोड्ने आँबुखैरेनी पुल भएर जिल्ला भित्रने मानिसहरुको मात्र हो । त्यो बाहेक पनि गोरखा जिल्लाको सिमाना मनाङ, धादिङ, तनहुँ, चितवन र लमजुङ संग जोडिएकोले त्यस क्षेत्रबाट लुकिछिपी जिल्ला प्रवेश गर्नेहरुको रेकर्ड प्रशासन संग छैन ।
भारतको विभिन्न नाका हुदै मझुवादेउराली मार्फत जिल्ला प्रवेश गर्नेहरु सबैलाई अहिले सम्वन्धीत पालिकालाई जिम्मा लगाउने काम भईरहेको छ । उनीलाई जिल्ला प्रवेश संगै कुनै पनि जाँच बिना सम्बन्धीत पालिकालाई बुझाउने गरिएको छ । नत उनिहरुको ब्यक्तिगत सुरक्षाको लागि नै कुनै काम गरिएको छ ।
अन्य बेला सामाजिक दुरी कायम गर्न सिकाउने प्रशासनले भारतबाट आउनेलाई भेडाबाख्रा जस्तै ब्यवहार गरी एकै स्थानमा जम्मा गरेर राख्ने गरेको छ । मास्क तथा ह्ण्याड स्यानिटाईजर जस्ता सामान्य बस्तु पनि नदिदा एउटामा भएको संक्रमण अरुमा सर्ने खतरा बढी देखिएको छ ।
पछिल्लो समय भारतबाटै फर्किनेमा कोरोना पुष्टि भैरहेको समयमा यस्तो कार्यले जिल्लामा कोरोना संक्रमणको जोखिम नबढला भन्न सकिने अवस्था छैन् ।
भारतबाट कुन पालिकाको कति मानिस आए त ?
- भीमसेनथापा गाउँपालिका २६
- पालुङटार नगरपालिका २४
- बारपाक सुलिकोट १७
- आरुघाट १४
- धार्चे ११
- गण्डकी १०
- गोरखा नगरपालिका ८ जना र १ जना भारतीय नागरिक
- सिरानचोक ८
- शहिदलखन ५
- अजिरकोट ५
- चुमनुब्री ०
८ जनाको स्वाब परिक्षण पछि घर फिर्ता
पालुङटार नगरपालिकाको धर्मावती माविमा रहेको ६ जना र गण्डकी को ज्ञानमार्गमा बसेका १ जना तथा गोरखा नगरपालिकाको रबर उद्योगमा बसेका १ जना भारतीयको पिसिआर नेगेटिभ आए पछि उनीहरुलाई आफन्तको जिम्मा लगाईएको छ ।




















