गोरखा समाचारदाता
काठमाण्डौं – सरकारले लकडाउन आगामी जेठ ३२ गतेसम्म लम्बाउने निर्णय गरेको छ ।
शनिवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
कोरोना संक्रमण रोकथामका लागि सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदैछ । मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय समेत गरेको छ ।
मन्त्रिपरिषद् बैठक अगाडि सुरक्षा परिषद् बैठक बसेको थियो । त्यसैको सिफारिसको आधारमा मन्त्रिपरिषदले निर्णय गरेको हो ।
अन्तराष्ट्रिय सीमा नाका असार १६ सम्म बन्द
सोही बैठकले हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन पनि असार १६ सम्म बन्द गर्ने निर्णय लिएको छ ।
यस्तै बैठकले विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको छ ।
सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ ।
नेपाल ल्याएपछि काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराउने योजना बनाएको छ ।


