गोरखा समाचारदाता
काठमाण्डौं – नेवार समुदायले आज सिथी नखः पर्व मनाउदै छन् ।
वर्षा ऋतुको स्वागतमा मनाईने यो पर्वलाई सिथी नखः भनिएको हो ।
मौसम र ऋतु परिवर्तनसँगै मनाइने पर्वहरुमध्ये यो पर्वलाई पनि निकै महत्वका साथ मनाउने गरिन्छ ।
आजको दिन महादेव पुत्र कुमारको पनि जन्म भएका कारण यस पर्वलाई कुमार षष्ठी पनि भन्ने गरिन्छ । आजको दिनमा भक्तजनहरुले क्षेत्रपालको रुपमा कुमारको पुजा गर्दछन् । सिथी नखः पर्वमा विभिन्न कुल देवीदेवताहरुको पनि पुजाआजा गरिन्छ ।
नेवार समुदाय भनेकै भिन्न भिन्न परिकार बनाएर खान जान्ने जातिमा गनिन्छ । मौषम अनुसार आहार गर्न जान्ने यो समुदायले गर्मी मौसमलाई ध्यान दिइ सिथी नखः पर्वमा सजिलै पचाउन सकिने र स्वास्थ्यलाई फाइदा पुर्याउने परिकारको रुपमा बारा बनाएर खाने र खुवाउने चलन चलि आएको हो ।
त्यसैले पनि यस पर्वलाई बारा खाने र खुवाउने पर्वका रुपमा लिइन्छ । मुंग, मासलाई पिसेर विभिन्न स्वाद अनुसार बनाइएको एक प्रकारको रोटी नै बारा हो ।
वर्षा ऋतु शुरु हुने भएकाले यसबेला ढुंगेधारा, इनार, कुवा जस्ता पानीका स्रोहरु सरसफाइ गर्ने चलन समेत रहेको छ ।
यसपटक भने विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण नेवार समुदायले क्षमा पुजा गरी गरेर सिथी नखः मनाउदै छन् ।




















