गोरखा समाचारदाता
गोरखा – गोरखा नगरपालिका ८ कट्टेलडाडाँका युवाहरुको दिनाचार्य फेरिएको छ । तिनै मध्येका एक युवाहुन् संकेत कट्टेल । कट्टेल बिहान सबेरै साथीहरु संगै काममा निस्कनछन् । बिहानको खाना खाने बेला भए पछि पुनः साथीहरु संगै घर फर्कछन् ।
लकडाउन यताको उनी र उनका साथीको दिनाचार्य यतीमा मात्र सिमित भएको छैन । खाना खाएर खेतबारीमा काम गर्न जान्छन् र थकित भएर साँझ पख फर्कछन् ।
बिहान तिनै युवाहरुले समाज सेवामा समय खर्चिएका छन् भने दिउसो आफ्नो घरको काममा ब्यस्त भएका हुन् । उनीहरु गोरखा सदरमुकाम संग जोडिएको सडक र नाला मर्मत तथा सरसफाईमा लागेका हुन् ।
कट्टेलडाडाँ युवा क्लबमा आबद्व सबै युवाहरु घरमा भएका औजार लिएर बिहान सडक र नाला सफा गर्न ब्यस्त देखिएका हुन् । यो कामका लागि उनीहरुलाई कसैले पनि हौसाका होइनन् । साथीहरु बिच सल्लाह भयो अनि बिहानको समय कच्ची सडक मर्मत र नाला सफा गर्न हौसिएका हुन् ।
उनीहरुले अहिले ३ किलो मिटर सडक भित्रका नाला र कच्ची सडक मर्मत गरिरहेका छन् । दैनिक जसो १५ देखी २० जना युवाहरु जम्मा भएर गरिने यो कार्यलाई उनीहरुले सफल पारेरै छाड्ने प्रतिबद्वता जनाएका छन् ।
यो कामका लागि कुनै पनि सरकारी तथा अर्ध सरकारी तथा संघ संस्थाबाट आर्थिक सहयोग नआएको क्लबले जनाएको छ । युवाहरुले सडकमा आएको पहिलो हटाउदा आउने ढुङ्गा र माटोलाई सडकको खाल्डाखुल्डीमा प्रयोग गरिरहेका छन् ।
कहिले काही आफु भन्दा माथिका उमेर समूहका मानिसले पनि काम गरिदिएर सहयोग गरिरहेको क्लबका सचिव कट्टेलले बताए ।
युवाहरुले गरेको यो कामलाई हामीले पनि सम्मान गर्न जरुरी छ ।








