गोरखा समाचारदाता
काठमाण्डौं – अन्तरजातिय विवाहमा रुकुममा २ जनाको हत्या र ४ जना बेपत्ता भएको घटनाको अनुसन्धानका लागि प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रेम सम्बन्धको विवादका कारण गाँउलेको कुटपिटवाट २ जनाको ज्यान गए पछि छानविनका लागि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा केटी पक्षका परिवारका सदस्यहरु समेत छन् । प्रहरीले मृतक परिवारको जाहेरीको आधारमा थप अनुसन्धान अघि बढाउने जनाएको छ ।
गत शनिबार राति जाजरकोटका नवराज विक प्रेमिका लिन गाउँका १८ जना साथी लिएर रुकुमको चौरजहारी नगरपालिका ८ सोती पुगेका थिए । उनीहरु गाउँमा पुगेलगत्तै केटी पक्षका आफन्तसहित गाउँलेहरुले आक्रमण गरेका थिए ।
मृतक नवराजकी प्रेमिका भनिएकी युवती ठकुरी परिवारकी हुन् । युवतीको सल्लाहमै नवराजसहितको समूह उनलाई लिन सोती पुगेको समयमा आक्रमण भएको थियो ।
गाउँलेहरुको आक्रमणमा प्रेमिका लिन पुगेका नवराज विकसहित उनका साथी टीकाराम विकको ज्यान गएको छ भने ४ जना भने अझै बेपत्ता छन् । ज्यान गएका दुवैजनाको शव भेरी नदी किनारमा भेटिएको थियो । गाउँलेहरुले लखेटेपछि भाग्ने क्रममा नदीमा खसेका थिए ।
बेपत्ता ४ जना पनि नदिमै हामफालेको बताइएको छ । गाउँमा पुगेका १२ जनालाई गाउँलेहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । उनीहरु मध्ये घाइते रहेका दुई जनाको अस्पतालमा उपचार भइरहेको छ ।


