- न्युज–२४, हिमालय टेलिभिजन, सगरमाथा टेलिभिजन, एभिन्युज टेलिभिजन, सेतोपाटी डटकम बिरुद्व समेत उजुरी
गोरखा समाचारदाता
काठमाण्डौं – नेपाल प्रेस काउन्सिलले आज ७० वटा अनलाइनलाई कारबाही गरेको छ ।
लकडाउन अवधिमा समाचारका माध्यमबाट समाजमा भ्रम फैलाएको भन्दे देशभर प्रसारण हुन नसक्ने गरी उत्त अनलाईनहरुलाई कारवाही गरको हो ।
प्रेस काउन्सिलका सूचना अधिकारी दिपक खनालका अनुसार चैत १० गतेदेखि जेठ ८ गतेसम्मको अवधिमा अफवाह फैलाउने त्यस्ता सञ्चार संस्थाहरूलाई कारबाही गरिएको हो । ‘हामीले सञ्चार माध्यमलाई सचेत गराउने, स्पष्टिकरण सोध्ने र चित्त नबुझेमा कारबाहीसमेत गरेका छौं,’ उनले भने, ‘अहिलेको अवस्था बिना प्रमाण समाजमा भ्रम फैलाउने कुनै पनि सञ्चारमाध्यमलाई कारबाही गरेका हौं ।’
प्रेस काउन्सिलले विज्ञप्ति जारी गर्दै लकडाउनको अवधिमा ५९ वटा सञ्चारमाध्यलाई स्पष्टिकरण माग गरिएको छ । २२ वटालाई सचेत गराइएको छ भने ४० वटालाई निर्देशन दिइएको छ । १४ वटाको ध्यानाकर्षण गराइएको भने १ लाई अन्तिम चेतावनी दिइएको छ ।
काउन्सिलले ७० ओटा अनलाइनलाई भने नेपालभित्र प्रसारण हुन नसक्ने गरी बन्द गराइएको छ । बन्द गरिएका अनलाइनहरू सूचना विभागमा पनि दर्ता नभएका र प्रेस काउन्सिलको अनुमति नलिइकन सञ्चालन भएको काउन्सिलका सूचना अधिकारी खनालले बताए ।
बन्द गराईएका अनलाइनहरूले कोरोनाका कारणबाट ज्यान गुमाका, कोरोना पोजेटिभ देखिएको, कर्मचारीको तलब बढाएको, लकडाउन खुलेको लगायतका भ्रमपूर्ण समाचारहरू लेखेको प्रेस काउन्सिलले जनाएको छ ।
यस्तै, यस अवधिमा विभिन्न कोरोना संक्रमण सम्बन्धी समाचार उपर पनि प्रेस काउन्सिलमा उजुरी परेको थिए । यस्ता उजुरी पर्ने सञ्चार संस्थामा न्युज–२४, हिमालय टेलिभिजन, सगरमाथा टेलिभिजन, एभिन्युज टेलिभिजन, सेतोपाटी डटकमसमेत रहेका छन ।


