नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेत समावेश गरि नयाँ नक्शा सार्वजनिक गरेसँगै भारतीय मिडियामा यसलाई लिएर टिप्पणी सुरु भैसकेको छ । नेपालले आफ्नो भूभाग वार्ताको माध्यमबाट फिर्ता ल्याउने बताइसकेको छ । यो बिषयमा नेपाली चलचित्रका कलाकारहरुले पनि आवाज उठाउन थालेका छन् ।
नायक हमालले फेसबुकमा भिडियो नै सार्वजनिक गर्दै आफ्नो भनाई राखेका हुन् । हमालले अंग्रेजी भाषामा सार्वजनिक गरेको आफ्नो विचारमा भनेका छन् ‘छिमेकी मित्रराष्ट्र भारतको पछिल्लो गतिविधीले हामी सबै नेपालीलाई मर्माहत बनाएको छ । इतिहास नै साक्षी छ कि, लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूभाग हो ।’
हमालले भारतको पछिल्लो समयको गतिविधी स्विकार्य नभएको पनि उल्लेख गरेका छन् । उनले, सम्पुर्ण नेपाली जनताले आफ्नो सिमाको बिषयमा कुनै पनि खालको संझौता नगर्ने उल्लेख गरेका छन् । हमालले नेपाल र भारतविच उठेको सिमानाको समस्याले सिंगो देशका नागरिकलाई जस्तै आफूलाई पनि मर्माहत बनाएको बताएका छन् । उनले, भारतलाई इतिहास पल्टाएर हेर्न पनि आग्रह गरेका छन् ।
हमालले भारतले भूकम्पको समयमा नेपालमा नाकाबान्दी लगाएर भारतले दिएको ठूलो दुखलाई नेपालले कहिले पनि विर्सन नसक्ने पनि बताएका छन् । उनले भनेका छन् ‘भारतले सिमानाको समस्यालाई इतिहास, तथ्यांक र प्रमाणको आधार हेरेर कुटनितिक तवरमा समस्या समाधान गर्न आवश्यक छ । सिमानाको समस्याले गर्दा नेपाली जनतामा उठिरहेको आक्रोशलाई शान्त बनाउन भारतले सहयोगी भावका साथ कदम चाल्न जरुरी छ ।’




















