गोरखा समाचारदाता
रुपन्देही – रुपन्देहीमा उपचारत गुल्मीका कोरोना संक्रमित ब्यक्तिको ज्यान गएको छ ।
४१ वर्षीया पुरुषको उपचारका क्रममा आज ज्यान गएको हो ।
रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा उनको आज विहान ज्यान गएको अस्पतालले पुष्टी गरेको छ ।
अस्पतालले ज्यानको पुष्टी गरे संगै ५ नम्बर प्रदेश सरकारले शव ब्यवस्थापनको तयारी गरेको छ । संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गर्ने छ । बुधबार नै संक्रमितको ज्यान गएको भन्दै केही सञ्चार माध्याममा समाचार आए पछि अस्पतालले विज्ञप्ति जारी गर्दै ज्यान नगएको जनाएको थियो ।

उनको ज्यान गएको बिषयमा स्वास्थ्य मन्त्रालयले आजको नियमित पत्रकार सम्मेलनमा सार्वजनिक गर्ने बताइएको छ ।
गुम्मीको मदाने गाउँपालिका ६ पुर्कोटदहका उनी शिक्षक हुन । उनलाई कोरोना संक्रमण भएको जेष्ठ ५ गते पुष्टि भएको थियो । उनी ४ गते मात्र क्रिमशन अस्पतालमा भर्ना भएका थिए । त्यसयता उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
रुघाखोकी र जण्डिसको समस्या लिएर अस्पताल पुगेका उनीमा संक्रमण कसरी देखियो भन्ने बारेमा अझै खुल्न सकेको छैन ।
रुपन्देहीमा भर्ना हुनुअघि उनी उपचारका लागि पुगेका अर्घाखाचीको छायाँ पोलिक्लिनिक पनि सील गरिएको छ ।
अस्पतालमा उनको सम्पर्कमा रहेका ३ जना आफन्त, डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मी गरी थप २९ जनाको पनि स्वाब संकलन गरिएको छ । उनको नजिकको सम्पर्कमा देखिएका अर्घाखाँचीका १० र गुल्मीमा ३० जनाको पनि स्वाब संकलन गरिएको छ ।
नोबल कोरोना भाइरस (कोडिभ–१९) का कारण यसअघि बाँके र सिन्धुपाल्चोकमा १÷१ जनाको ज्यान गई सकेको छ ।




















