गोरखा समाचारदाता
काठमाण्डौ – नेपालमा आज पनि २५ जना कोरोना संक्रमित थपिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कपिलबस्तु, बाँके, धनकुटा र नवलपुर जिल्लामा गरेर २५ जना संक्रमित थपिएको हो ।
मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिदै कपिलबस्तुमा १३ जना संक्रमित थपिएको जनाएको छ । संक्रमितहरु कपिलबस्तुको बिजयनगरको क्वारिन्टीन र महाराजगञ्ज गाँउपालिकाका बासिन्दा छन् ।
बाँकेको नरैनापुरका ५ र खजुराका १ पुरुषमा संक्रमण देखिएको छ । धनकुटा ४ पुरुष र १ महिलामा र नवलपुरको सुस्तामा १ जना पुरुषमा संक्रमण देखिएको छ । सधै झै आज पनि मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।
आज थपिने संक्रमितहरु ३ देखि ४८ बर्ष उमेरका ७ महिला र १८ पुरुष छन् ।
मन्त्रालयका अनुसार हालसम्म देशभर ३५ हजार ४९४ जनाको पीसीआर र ७५ हजार ७२ जनाको आरडीटी बिधिवाट परीक्षण गरिएको छ । त्यस्तै २३ हजार २०२ जना क्वारिन्टीनमा रहेका छन् । विभिन्न अस्पतालमा ३८० जनालाई आइसोलेसनमा राखेर उपचार भैरहेको छ । कोरोना संक्रमितमध्ये ४५ जना निको भएर घर फर्किएका छन् । हाल सम्म २ जनाले ज्यान गुमाएका छन् ।


