एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका संक्रमित अमेरिकामा सबैभन्दा धेरै देखिनुलाई ‘सम्मान’को विषय भएको बताएका छन ।
ह्वाइटहाउसमा पत्रकारसँग कुरा गर्दै उनले संक्रमित बढि देखिनुलाई अरुको भन्दा अमेरिकाको परीक्षण राम्रो छ भन्ने देखाउने सम्मानको रुपमा लिनुपर्ने बताएका हुन् ।
अमेरिकामा महामारी सुरु भएयता पहिलोपटक मन्त्रीपरिषदको बैठक बोलाएका ट्रम्पले अमेरिकाले धेरै भन्दा धेरै परीक्षण गरेको बताएका हुन् ।
अमेरिकामा मंगलबारसम्म १ करोड २६ लाख मानिसमा कोरोना भाइरसको परीक्षण भएको छ । कुल परीक्षणमा अमेरिका अगाडी भएपनि जनसंख्याको आधारमा गरिएको परीक्षणमा भने अमेरिका पछि छ ।
प्रति एक हजार व्यक्तिमा गरिएको परीक्षणमा अमेरिका १६ औँ स्थानमा छ । परीक्षणमा आइसल्याण्ड, न्यूजिल्याण्ड, रुस र क्यानडा भन्दा अमेरिका पछि छ ।
पछिल्लो समय अमेरिकामा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १५ लाख ७० हजार भन्दा बढी पुगेको छ । मृत्यु हुनेको संख्या ९३ हजार ५ सय भन्दा बढी छ ।


