गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा मंगलरबार एकै दिन २७ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै नेपालमा उत्त संख्यामा कोरोना संक्रमित थपिएको जानकारी गराएको हो । अब नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार मंगलबार एकै दिन २७ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ४०२ पुगेको हो । नयाँ संक्रमित काठमाडौं, भक्तपुरका साथै झापा र अन्य जिल्लाका छन् ।
प्रवक्ता डा.देवकोटाले पत्रकार सम्मेलनमा जानकारी दिदै नेपालमा अहिलेसम्म ३२ हजार ६०४ लाई पीसीआर विधिबाट र ७४ हजार ६४९ जनालाई आरडीटी विधिबाट परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार २८० र आरडीटी विधिबाट ५ हजार ८९ जनाको नमुना परीक्षण गरिएको छ।
प्रवक्ता देवकोटाका अनुसार २१ हजार ६२३ जना क्वारेन्टाइनमा छन् । उपत्यकामा १७ र उपत्यका बाहिर ४४० गरेर आइसोलेसनमा ४५७ जनालाई राखिएको छ।
मंगलबार विराटनगरस्थित कोसी अस्पतालमा उपचार गराइरहेका झापाका ६२ वर्षीय पुरुष उपचार पछि घर फर्किएका छन् । योसँगै उपचार पछि घर फर्किनेको संख्या ३७ पुगेको छ ।


