गोरखा समाचारदाता
बाँके – बाँकेको नरैनापुरमा एकै दिन ५९ जनामा कोरोना भाइरसको संक्रमित फेला परे पछि आज देखी अनिश्चित कालको लागि सिल गरिएको छ ।
स्थानीय प्रशासनले नरैनापुर गाउँपालिकालाई अनिश्चितकालका लागि सिल गरेको हो ।
जिल्ला सुरक्षा समितिको बैठकले नरैनापुरलाई जोखिम क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मलाई पूर्ण रूपमा सिल गर्ने निर्णय गरे पछि सिल गरिएको बाँके जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि भारतसँग सीमा जोडिएको नरैनापुर गाउँपालिकामा ६ वटा वडाहरु छन् । यसको उत्तरपूर्वमा राप्तीसोनारी गाउँपालिका जोडिएको छ । संक्रमण न्यूनिकरणका लागि गाउँपालिकामा अत्यावश्वक कामबाहेक पूर्ण रूपमा आवतजावत ठप्प गरिएको हो ।
सो क्षेत्रमा थप सुरक्षाकर्मी पनि परिचालन गरिएको छ । नरैनापुरमा हिजो (सोमबार) फेला परेका ५९ जनासहित गाउँपालिकामा मात्रै संक्रमितको संख्या ६८ पुगेको छ ।
नरैनापुरमा शुरूमा फेला परेका८ जनासँगको सम्पर्कमा आएका २६३ जनाको स्वाब परीक्षण गर्दा ५९ जनामा सोमबार कोरोना भाइरस पोजिटिभ देखिएको हो ।
हिजो संकलन गरिएको ९३ सहित अझै ११० जनाको स्वाब परीक्षणका क्रममा छ ।
बाँकेमा मात्रै अहिले सम ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


