कोरोना भाइरसका कारण यतिबेला भारत आक्रान्त बनेको छ । लकडाउनका कारण मजदुरहरुको दैनिक जनजीवन कष्टकर बनेको छ । ती मजदूरहरुलाई मद्दत गर्नका लागि थुप्रै बलिउड सेलिब्रेटीहरु अघि सरेका छन् । अहिले आएर अभिनेत्री सोनाक्षी सिन्हाले पनि ती प्रवासी मजदुरहरुलाई सहयोगका लागि आफ्नो हात अगाडि बढाएकी छिन् ।
सोनाक्षी सिन्हाले मजदूरहरुलाई राशन प्रदान गर्नका लागि आफ्नो आर्ट वर्क तथा चित्रकलाहरु लिलामी गर्ने घोषणा गरेकी छिन् । यो कुराको जानकारी सोनाक्षीले ट्वीटरमार्फत एउटा भिडियो शेयर गर्दै दिएकी हुन् । सोनाक्षीले उक्त भिडियोमा आफ्नो आर्ट वर्कलाई पनि देखाएकी छिन् ।
भिडियोमा सोनाक्षीले भनेकी छिन् – ‘यदि हामी अरुका लागि काम लाग्न सक्दैनौं भने हामी के राम्रा भयौं र । मेरो कला मेरा लागि सुरक्षित स्थल हो । यीनले मलाई आफ्नो विचारहरुलाई परिमार्जित गर्न सहयोग गर्छन् र मलाई खुशी पनि दिन्छन् । कला मेरा लागि शान्ति तथा राहतको भावना लिएर आउछ । राहत त्यो कुरा हो, जुन म ती मानिसहरुका लागि ल्याउन चाहन्छु, जसका लागि यो लकडाउन एउटा नराम्रो सपना जस्तै बनेको छ ।’
सोनाक्षीको भनाइ छ-‘जो व्यक्तिहरुको आम्दानीको स्रोत नै छैन र ती व्यक्तिहरु जो स्वयंको तथा आफ्ना परिवारका सदस्यहरुको पेट भर्न असमर्थ छन्, उनीहरु हुन् दैनिक ज्यालादारी मजदुर । मैले आफ्ना चित्रकलाहरु तथा अन्य आर्ट वर्कहरुलाई लिलामी गर्ने निर्णय गरेकी छु । लिलामीबाट आउने पैसाले तीनै मजदुरहरुलाई राशन उपलब्ध गराइने छ । कृृपया मेरा आर्टहरुलाई राम्ररी सम्हालेर राख्नुृ होला । यीनलाई मैले प्रेमपूर्व बनाएकी हुँ ।’
सोनाक्षीको यो पहल मानिसहरुलाई निकै मन परेको छ । मजदुरहरुलाई सहयोग गर्नका लागि उनले फ्यान काइण्ड नाम भएको एउटा संस्थासंग सहकार्य गरेकी छिन् । सोनाक्षीले आफ्नो यो पहलको नाम बिड फर गुड राखेकी छिन् । यो लिलामीको सम्पूर्ण पैसा मजदुरहरुलाई राशन किन्नका लागि प्रयोग गरिनेछ ।


