गोरखा समाचारदाता
गोरखा – भोली (मंगलबार) देखी गोरखामा लकडाउनमा केही परिवर्तन गरिएको छ ।
कोरोना भाइरस (कोडिभ–१९) को रोकथाम, नियन्त्रण र ब्यवस्थापनको लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्टले मंगलबार देखी लकडाउनमा केही परिवर्तन गरेको हो ।
कमाण्ड पोष्ट ६ गते देखी २० गते सम्म लागु हुने गरी देहायका कुराहरु गर्न मिल्ने र नमिल्ने भन्दै निर्णय गरेको छ ।
हेरौं निर्णयहरु :
क) अति आवश्यक अवस्थाकालागि मात्र जिल्ला भित्र हुने खाद्यन्न, तरकारी, पशुपन्छिका दाना, कृषि सामग्री, मल वीउवीजन ढुवानी गर्न सम्बन्धित पालिका प्रमुखको सिफारिस, ढुवानी गर्ने सम्बन्धित उद्योग/पसल/संस्था/फर्मको दर्ता प्रमाणपत्र, सवारी साधनको कागजात र उद्योग वाणिज्य संघ वा च्याम्वर्स अफ कमर्स मध्ये कुनै एकको सिफारिस सहित साधनको अगाडि सम्बन्धित ढुवानी विषयको तुल, व्यानर राखी चालक र सहचालक १/१ जना गरी दुई जना सवार भई जिल्लाभित्र वेलुका ६:०० बजेदेखि विहान ६:०० बजेसम्म ढुवानी गर्ने व्यवस्था मिलाउने ।
ख) जिल्लामा अत्यावश्यक विकास निर्माणका योजनाहरु संचालन भइरहेको सन्दर्भमा अति आवश्यक निर्माणधीन वर्षा अगावै सम्पन्न गर्नुपर्ने योजनाहरु सम्बन्धित पालिका तथा योजना संचालन गर्ने कार्यालयले प्राथमिकिकरण गरी निर्माण सामग्री (ढुंगा, गिटि, वालुवा, रड लगायत निर्माण जन्य सामग्रीहरु) ढुवानीको लागि प्रयोग हुने ट्रक, ट्रिपर र ट्याक्टर जस्ता सवारी साधनबाट सम्बन्धित योजना संचालन गर्ने संस्थाको सिफारिस, सम्बन्धित पालिका प्रमुखको सिफारिस, व्यवसायीको कागजातसहित साधनको अगाडि सम्बन्धित ढुवानी विषयको तुल, व्यानर राखी चालक र सहचालक १/१ गरी दुई जना मात्र सवार भई वेलुका ६:०० बजेदेखि विहान ६:०० बजेसम्म ढुवानी गर्ने व्यवस्था मिलाउने ।
ग) तत्काल उपचार आवश्यक परेको भनि स्वीकृत चिकित्सकबाट रिफर भएको विरामी बोकेको एम्वुलेन्स, दुर्घटनामा परि तत्काल उपचार आवश्यक परेको घाइते बोकेको सवारी साधन, लास एवं मलामी, कृयापुत्रि सवार सवारी साधन, सुरक्षाकर्मी सुरक्षा अधिकारी जिल्लामा कार्यरत स्वास्थ्यकर्मी, प्रेस पास भएको संचारकर्मी तथा वडाध्यक्ष वा सो भन्दा माथिका जनप्रतिनिधि वा सवारी साधनलाई बाहेक जिल्ला भित्र वाहिर गर्न रोक लगाउने यस भन्दा अगाडि बसेको बैठकको निर्णयलाई निरन्तरता दिने ।
घ) पशुपन्छि जन्य सामग्री अन्तर जिल्ला ढुवानीको लागि सम्बन्धित पालिका र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सिफारिस सहित सम्बन्धित उद्योग/पसल/सप्लायर्स/फर्मको दर्ता प्रमाणपत्र संलग्न राखी चालक र सहचालक १/१ गरी दुई जना मात्र सवार भई दिउसोँ ३:०० बजेदेखि वेलुका ६:०० बजेसम्म ढुवानी गर्ने व्यवस्था मिलाउने ।
ङ) रासायनिक मल, वीउवीजन लगायत कृषि जन्य सामग्री जिल्ला बाहिरबाट ढुवानी गर्नुपर्ने भएमा ढुवानीको लागि सम्बन्धित पालिका र कृषि ज्ञान केन्द्रको सिफारिस सहित सम्बन्धित उद्योग/पसल/सप्लायर्स/फर्मको दर्ता प्रमाणपत्र संलग्न राखी साधनको अगाडि सम्बन्धित ढुवानी विषयको तुल, व्यानर राखी चालक र सहचालक १/१ जना गरी दुई जना सवार भई जिल्लाभित्र दिउसो ३:०० बजेदेखि साँझ ६:०० बजेसम्म ढुवानी गर्ने व्यवस्था मिलाउने ।
च) खाद्यान्न, तरकारी, पशुपंक्षिका दाना औषधी, उपकरण तथा माछामासुका पसल बाहेक अन्य पसलहरु बन्द गर्ने यस भन्दा अगाडिको व्यवस्था यथावत कायम राखी कार्यान्वयन गर्ने ।
निर्णय नं ३
भारतमा अलपत्र परेका जिल्लावासी तथा जिल्ला वाहिर रहेका स्थानीयबासी एवं निजहरुको आफन्त औपचारिक तथा अनौपचारिक माध्यम प्रयोग गरी जिल्लाभित्र आएमा जिल्ला प्रवेश गर्ने नाकामै नाका रहेको सम्बन्धित पालिकाले क्वारेन्टाइमा राखी Covid-19 परीक्षण गरी परीक्षणको नतिजाको आधारमा निजको स्थायी घर ठेगाना भएको पालिकासंग आवश्यक समन्वय गरी जिम्मा बुझाउने, त्यस्ता प्रत्येक व्यक्तिलाई १४ दिन क्वारेन्टाइनमा राख्ने र यस क्रममा खाना लगायत व्यवस्थापनमा लागेको खर्च सम्बन्धित पालकिाले व्यवस्थापन गर्ने निर्णय गरियो ।
निर्णय नं ४
बैंक, वित्तिय संस्था, विमा एवं सहकारीको संस्थाको सेवा प्रवाह सन्दर्भमा हप्ताको प्रत्येक मंगलबार र शुक्रबार विहान १०:०० वजेदेखि दिउंसो ४:०० बजेसम्म सम्बन्धित स्थानीय तह र सुरक्षा निकायसंग समन्वय गरी टोकन प्रणाली, सुरक्षा एवं स्वास्थ्यको मापदण्ड एवं सामाजिक दुरी कायम गरी गराई सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने र सम्बन्धित बैंक एवं वित्तिय संस्थाले आफ्नो ग्राहकसंग अग्रिम समन्वय गरी ग्राहकलाई सेवा प्रवाह गर्ने समय अग्रिम जानकारी गराइ सो अनुसार गर्ने गराउन निर्देशित गर्ने निर्णय गरियो ।
निर्णय नं ५
कोरोना भाइरस देखिएका जिल्लाबाट अक्सर आयात हुने खाद्य तथा निर्माण सामग्री ढुवानी हुने सवारी साधनका चालक एवं सहचालकलाई उद्योग बाणिज्य संघ एवं च्याम्वर अफ कमर्सको समन्वयमा Covid-19 को परिक्षण गर्ने व्यवस्था मिलाउने, त्यस्तै गरी क्रमश नियमित चेकजाँचका लागि नाकाहरुमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्वुलेन्स चालक, जनप्रतिनिधि र संचारकर्मीहरुलाई आवश्यकतानुसार Covid-19 को परिक्षणको दायरामा ल्याउने र यसरी कोरोना भाइरस परिक्षणको दायरा बढाउन VTM लगायत PPE को आवश्यकता पर्ने हुदाँ तत्काल सो को उपलब्धताको लागि गण्डकी प्रदेश सरकार समक्ष माग गर्ने निर्णय गरियो ।
निर्णय नं ६
स्थानीय तहहरुबाट क्वारेन्टाइन व्यवस्थापनको लागि हालसम्म भएका खर्च रकमको एकिन विवरण तयार गर्ने व्यवस्था मिलाई सोधभर्नाको लागि कोरोना भाइरस (Covid-19) सम्बन्धी क्वारेन्टाइन संचालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड, २०७६ को दफा ११ व्यवस्था भए बमोजिम कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार कोषमा लेखि पठाउने र अव क्वारेन्टाइन व्यवस्थापनमा लाग्ने खर्च समेत माग गरी पठाउने निर्णय गरियो ।























