गोरखा समाचारदाता
गोरखा – लकडाउनको कारण भक्तजन नआएपछि मनकामना मन्दिरका परेवाहरुलाई पुजारी र स्थानियले चारा दिइरहेको छ ।
सामान्य अवस्थामा नेपालकै धार्मिक, ऐतिहासिक तथा प्रमुख पर्यटकीय क्षेत्र मनकामना मन्दिरमा आउने हजारौ आन्तरिक तथा बाह्य पर्यटकहरुले परेवालाई चारा दिने गर्दथ्यो ।
कोभिड–१९ को कारण विश्व नै प्रभावित भएको बेलामा मन्दिरमा रहेका परेवालाई अहिले मन्दिर पुजारी र स्थानियले आहारा उपलब्ध गराइरहेको छ । मन्दिरका मुल पुजारीले दैनिक बिहान बेलुका १/१ पाथी धान दिदै आएका छन् भने स्थानियले भने मकै र कोदो दिदै आएको मनकामना जिर्णोद्वार समितिका अध्यक्ष नरेन्द्र श्रेष्ठले बताए । ‘स्थानिय ५/७ घरले परेवालाई दैनिक रुपमा चारा दिदै आएको’ उनले बताए ।
यता मन्दिरका मुल पुजारी ईन्सानबहादुर थापाले पनि अहिले बिहान बेलुका मन्दिरको परेवालाई चारा उपलब्ध गराउदै आएका छन् । ‘मन्दिरको तर्फबाट लकडाउन भए देखी बिहान १ पाथी र साँझ १ पाथी धान परेवालाई दिदै आएको’ उनले बताए ।
पुजारी थापाले मन्दिरकै भरमा बाँच्दै आएको बादरहरुलाई पनि भिजाएको चना खुवाउन थालेका छन् । मन्दिर खुल्ला भएको फलफुल दिने गरेको भएता पनि अहिले भने चना दिन थालेको पुजारी थापाले बताए । ‘मन्दिर बन्द भए पछि खान नपाएर स्थानियको घर भित्रै छिरेर दुःख दिन थालेको’ पनि उनले बताए ।
मन्दिरमा अहिले ५ सयको हाराहारीमा परेवा रहेको अनुमान छ ।


