हिन्दी टेलिसिरियल लोक पातल मा नेपाली नारीलाई प्रयोग गरिएको तुच्छ गालिप्रति अभिनेत्री करिश्मा मानन्धरले पनि आपत्ती जनाएकी थिइन् । यसमा केही फेसबुक प्रयोगकर्ताले नेपाली महिलाको भारतमा वास्तविक बाध्यता देखाएको भन्दै फेसबुके राष्ट्रवाद नदेखाउन जस्ता प्रतिक्रिया आएका छन् ।
यस प्रकारका प्रतिक्रियालाई अभिनेत्री मानन्धरले फेसबुकमा लामो स्टाटस लेखेर जवाफ दिएकी छिन् । सोमबार बिहानै करिश्माले आफ्नो फेसबुकले लेखेको स्टाटसको केही अंश यस्तो छ, ‘कमजोर पक्षले सधैं प्रतिरक्षात्मक व्यवहार अपनाउने गर्छ । त्यो भनाई साचो हो जस्तो लाग्छ । हरेक पटक जब पनि हाम्रो देशको बारे कुनै नकारात्मक टिप्पणी हुन्छ हामी सबै नेपाली सामाजिक सञ्जालमै भएपनि आ आफ्नो भनाइ राखेर बिरोध प्रदर्शन गर्छौ । यस्मा केही सकारात्मकता भन्ने शब्दलाई सपुर्ण समस्याको समाधान भनेर सोच्ने महानुभावहरुले यो क्रियाकलापलाई बकुमफुसे सोच पनि भनेको पाइन्छ ।
हिजोकै कुरा लिउँ, नेपालको नाम लिएर एउटा छिमेकी मुलुकको सिरियलमा भएका केही शब्दप्रती नेपालीहरुले जनाएको चित्त नबुझाइलाई केही फेसबुक प्रयोगकर्ता साथीहरुले नकारात्मकता फैलाउन खोजेको, जनता उकास्न खोजेको अशान्ति फैलाउन खोजेको भन्दै विभिन्न सामाजिक सञ्जालका समाचारहरुमा प्रतिक्रिया जनाएको देखे ।
जस्तो कि, हामीलाइ नेपाली…र… भन्दैमा के भयो त सकारात्मक सोचौं । सिरियलको दृश्य को माग होला । अनी हाम्रो इतिहास हेर्नुस् हाम्रा चेलिहरुले के गरिरहेका थिए रे ! अझ एक जानाले त जो दिदीबहीनीहरु जो त्यो नरकबाट बचेर फर्किएर त्यही विषय सम्बन्धी सेवाकार्य गरिरहनु भएको छ । उहाँको टेलिभिजनको इन्टरभ्यु समेत हालेर यो हो हाम्रो रियलिटी भनेर राख्नु भएको छ । कसरी आफ्ना चेलीलाई यस्तो लान्छना लगाउन सक्नुहुन्छ ?
अनी जस्ले यो बारे दुई शब्द सामाजिक सञ्जालमा राख्छ फेसबुके राष्ट्रबाद रे ! नभुल्नुस, आज कोभिड १९ ले विश्वलाई गाँजेको बेला फेसबुक या समाजिक सञ्जाल नै यस्तो माध्यम हो जस्ले एक अर्कोलाई जोडेर राखेको छ । अहिलेको अवस्थामा विभिन्न भिडियो कन्फ्रेन्सद्वारा महत्वपुर्ण विचारहरुको आदान प्रदान भई ठुला काम सम्पन हुने बाटो खुलेको छ । यो हो सकारात्मक पक्ष ।
मेरो प्रश्न उहाँहरुलाई के हो भने हजुरहरु यो टिप्पणी के मा लेख्दै हुनुहुन्छ ?’
(फेसबुके म होइन ?)


