गोरखा समाचारदाता
काभ्रे – नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमणपछि मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको परिवारको रिर्पोट नेगेटिभ आएको छ ।
मृत्तक महिलाका शिशु, श्रीमान, सासु र बहिनीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण नेगेटिभ आएको हो ।
अस्पतालका अनुसार १४ दिने नवजात शिशुमा भने जन्डिसको समस्या देखिएको छ । शिशुसँगै आफन्तलाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।
सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरीको धुलिखेल अस्पतालमा गएको बिहीबार ज्यान गएको थियो । उनी कोरोना भाइरसका कारण नेपालमा मृत्यु हुने पहिलो व्यक्ती हुन् ।
यसैबीच कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी महिलाको सम्पर्कमा आएका आफन्त तथा गाउँलेको स्वाब संकलनका लागि स्वाथ्य मन्त्रालय र प्रदेश स्तरीय जनस्वास्थ्य प्रयोगशालाको टोली आज (सोमबार) पनि सिन्धुपाल्चोक जाँदैछ ।
हिजो (आईतबार) ५४ जनाको स्वाब संकलन गरिएको थियो । थप ब्यक्तिको आज स्वाब संकलन गरिदैछ ।


