गोरखा समचारदाता
काठमाण्डौं – राजधानीको स्यम्भूमा रहेको नेपाली सेनाको छाउनी स्थित अस्पतालमा कोरोना संक्रमितको उपचार गर्ने भएको छ ।
कोरोना भाइरसबाट संक्रमितको उपचारका लागि नेपाली सेनाले छाउनीस्थित वीरेन्द्र अस्पतालमा बिरामीको पहिचान, परीक्षण, आइसोलेशनसहित चिकित्सकको प्रत्यक्ष निगरानी राख्ने गरी तयारी पूरा गरेको हो ।
बिरामी तथा सेनाका कर्मचारी प्रवेश गर्ने भएकाले प्रवेशद्वारा उच्च सावधानी अपनाइएको अस्पतालले जनाएको छ । अस्पतालमा सरकारको निर्देशन अनुसार नै जरो क्लिनिक सञ्चालनमा आएको छ ।
सेनाले ओपिडी सञ्चालन गर्ने उद्देश्यले निर्माण गरेको भवनलाई कोरोना संक्रमित बिरामीको उपचार गर्ने गरी रुपान्तरण गरेको छ । त्यस्तै कोरोना संक्रमण रोकथाममा खटिएका चिकित्सहरुलाई आवश्यक तालिम पनि दिइएको अस्पतालले जनाएको छ ।
अस्पताल प्रवेश गर्नुअघि प्रवेशद्वारमा दुईवटा स्वचालित धारा जडान गरिएको छ । जहाँ पानी खोल्न र बन्द गर्न हातले छुनुपर्ने छैन । सेनाले यसअघि देखिनै अनिवार्यरुपमा साबनपानीले हात धोएर मात्र अस्पतालमा प्रवेश गराउँदै आएको छ ।
प्रवेशद्वारामा ‘थर्मल गन’द्वारा तापक्रम नाप्ने प्रबन्ध मिलाइएको छ । यदि कुनै बिरामीलाईमा कोभिड–१९ संक्रमण भएको शंका लागेमा क्लिनिकसँगै रहेको ‘स्वाव बुथ’ बाट स्वाव झिक्ने र परीक्षणका लागि पठाउने व्यवस्था मिलाइएको छ ।


