गोरखा समाचारदाता
गोरखा – गोरखा नगरपालिका भित्र बैशाख २५ गतेबाट दादुरा–रुबेला खोप अभियान सुरु हुने भएको छ ।
जिल्लामा केही साता देखी दादुराको प्रकोप देखिन थाले पछि नगरपालिकाले आफ्नो सबै वडामा दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्न लागेको हो ।
नगरपालिकाले सूचना जारी गर्दै ‘यस अभियान अन्रतर्गत ६ महिना देखी ५ बर्ष मुनिका बालबालिकाहरुलाई भिटामिन ‘ए’ को साथै जुकाको औषधी खुवाउने’ र ‘९ महिना देखी ५ बर्ष सम्मका बालबालिकाहरुलाई दादुरा–रुबेला रोग विरुद्वको खोप लगाईने’ जनाएको हो ।
दादुरा–रुबेला अभियान तत्कालै सञ्चालनमा नल्याए महामारीको रुप लिन सक्ने आकल गर्दै नोबल कोरोना भाइरस (कोडिभ–१९) को संक्रमणका बेला पनि खोप अभियान सञ्चालन गर्न लागेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले बैशाख २५, २६ र २७ गते गरी ३ दिन यो अभियान सञ्चालन गर्ने छ । अभियानमा ३ हजार ८०० बालबालिकालाई खोप र भिटामिन ‘ए’ खुवाउने लक्ष्य राखेको छ । १४ वटा वडा रहेको नगरपालिकामा ४९ खोप केन्द्र रहेको नगरपालिका स्वास्थ्य प्रमुख ईश्वर रेग्मीले बताए ।
सूचनामा नगरबासीलाई संक्रमणको यो बेला सामाजि दुरीको पालना गर्दै आफुलाई पायक पर्ने खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई खोप लगाउन र भिटामिन ‘ए’ औषधी खुवाउन अनुरोध गरेको छ ।
गोरखा नगरपालिकाको सूचना



