तिलक पौडेल
झण्डै एक दशक पहिलेको कुरा हो – पोखराको फेवातालमा ‘जलकुम्भी’ नामको जलझार (?) फैलिएर तालै ढाक्यो । विभिन्न तप्काका सेलिब्रेटीहरुसमेतको संलग्नतामा चालिएका ताल सफाइ अभियानहरुले पनि अपेक्षित प्रतिफल दिन सकेनन् । तिनैताका एकजना जीव विज्ञानविद्ले “यो धर्तीले आ(आफ्नो सन्तुलन र व्यवस्थापन स्वचालित हिसाबले मिलाउने गर्दछ । पानीको प्रकृति कम्तीमा सय मीटर दुरीसम्म वेगसँग वहन पायो भने स्वच्छ हुने हुन्छ । बग्न नपाउने ताल, तलैया, कुवाहरुको पानी तुलनात्मक रुपमा प्रदूषित हुन्छ । त्यसमाथि पोखराको फोहोर मैला व्यवस्थापन चुस्त नहुँदा र अराजकताले भौतिक समृद्धिलाई मात्र अँगाली ‘सबै मर, मेरै पेट भर’ हुन जाँदा दिशा पिसाबको विसर्जन एवं होटेलहरुमा पानीको सहजापूर्ति हेतु मोटर चलाउँदाको कुप्रदूषण (?) लेतालको पानीमा सीमा नाघेपछि कपालका रौं जस्ता जरा भएको ‘जलकुम्भी’को सिर्जना हुन पुगेको हो । यसले आफ्नो वुताले भ्याएसम्म प्रदूषण शोषण गरी, जति सम्भव छ, पानीलाई स्वच्छता कायम राख्ने प्रयास गरिरहने भएकोले, जलकुम्भी झिकेर हैन ताललाई प्रदूषणबाट जोगाएरमात्र जलकुम्भी हटाउने र ताल सफा राख्ने काममा सफल हुन सकिनेछ” भन्नुभएथ्यो । हुनपनि अहिले साइड ड्रेनको निर्माण र फोहोर मैलाको समुचित व्यवस्थापन भएपछि फेवातालबाट जलकुम्भी क्रमशः हराउँदै गएको महसुस हुन्छ ।
यो एउटा जल र जल वनस्पतिको प्रत्यक्ष नमूना हो । यस मानेमा जलको ठूलो पिण्ड ( महासागरहरुमा पनि विभिन्न औद्योगिक, आन्वेषीय लगायतका अवशेषहरुको विसर्जनले त्यहाँ पनि मन्द जलकुम्भी विस्तार भएको अड्कल गर्न सकिन्छ । जलप्रदूषणले कतिपय जलचरहरु विलुप्त हुँदै गएका छन् भने कतिपय ‘इण्डेन्जर’ अर्थात् लोपोन्मुख अवस्थामा पुगेकाछन् । भक्षाभक्षको लक्ष्मणरेखा मेटाएर सर्वभक्षी बनेका विवेकी, नियोकर्टेक्स मगजधारी, होमोस्यापिन्स वर्गका हामी मानिसहरुले आफू बाहेकका सबै जीव÷वनस्पतिहरुलाई आफ्नो आहारा बनाई आएको अवस्था विद्यमान छ । यस अर्थमा लोपोन्मुख जातिहरु त झन् केही समयपछि प्रयोग गर्न नपाइने शोचले भौतिक समृद्धि प्राप्त व्यक्तिहरुले बढी मूल्य चुकाएर पनि खान थालेका छौं भने द्रव्यपिशाची मनहरु त्यस्ता जीवहरुको बृहत् खोजी गरी निमास पार्न उद्धत रहेको पाइन्छ । परिणामस्वरुप पर्यावरणीय सन्तुलन कायम राख्न प्रकृतितः आ–आफ्नो भूमिका तोकिई सोही बमोजिम निर्वाह गरेका जीवहरुको विलुप्तताले पर्यावरणीय सन्तुलन–चक्रमा खाडल सिर्जना गराएको छ ।
हुन त उनैताका आदिशास्त्री विद्वानहरुले –
नौषधं वर्तते मूलं नामन्त्रं वर्ततेक्षरम्, अयोग्य पुरुषो (सजीवो) नास्ति योजकस्तत्र दुर्लभः ।
अर्थात् औषधीय गुण नभएको बिरुवै छैनन्, मन्त्र याने शब्द नबन्ने अक्षरै छैनन्, प्रकृतिमा काम नलाग्ने जीवै छैनन् तर यो विरुबाबाट यस्तो औषधि बन्छ, यी अक्षरहरु मिलाएमा यस्तो मन्त्र÷शब्द बन्छ, भला हिंस्रकै किन नहुन् यी जीवहरुको यस्तो उपयोग छ भनेर योजना बनाउनेवालाको मात्र यहाँ अभाव छ, भनेका थिए । अहिलेका विद्वानहरुले यी–यी जीव, वनस्पति लोपोन्मुख अवस्थामा छन् त भने, तर त्यसको लोपै भएमा परिणाम के होला ? आँकलन गर्न सकेनन्, सकेका रहेनछन् । फलस्वरुप प्रकृतिको वातावरणीय सन्तुलन विच्छृङ्खल हुन पुग्यो । यसको मुख्य कारक विवेकी (?) भनिएको मानिस ठहरिन पुग्यो । हुनपनि हाम्रा आविष्कारहरु शस्त्रास्त्रहरुको होडबाजीप्रति अधिकाधिक उन्मुख भएछन् तर मानवोचित, हितोन्मुख सारै थोरै भएछन् क्यारे ! अहिलेको अदृष्य, निर्जीव सुक्ष्मकण (कोरोना भाइरस) सँगको पराजयले यही प्रमाणित गरिदिन पुगेको छ । धर्तीभरका वैज्ञानिक मस्तिष्कहरु लागी परिरहँदा पनि आज चार मैना लाग्दासम्म पनि जावो एउटा एककोशीय भाइरसलाई मार्न नसके पनि निष्क्रिय पार्ने हैसियत समेत प्रदर्शन गर्न असफलै रहेकाछन् । दिन प्रतिदिन मृत्यु हुने र सङ्क्रमित हुनेको संख्या बढिरहेको छ, प्रभावित मुलुकहरुको संख्या वृद्धितर छ । आखिर औषधि पत्तालगाउन नसकेको भनेर स्वीकारेका सन्दर्भमा उपचार सफल भएकाहरु भनिएका पनि औषधि सेवन गरेर नभै रोकथामका उपायअवलम्बीहरुको आफ्नै रोग प्रतिरोधात्मक शक्तिका कारण सञ्चो भएको जस्तो देखिन्छ ।
आखिर सृष्टिको ज्ञान स्रष्टालाई नहुने कुरै भएन । एककोशीय अमीवादेखि सबैभन्दा ठूलो ह्वेलमाछासम्मको जीवहरु र तिनको सृष्टि निरन्तरताको लागि हुनुपर्ने भूमिका स्रष्टा÷प्रकृतिलाई जानकारी नै छ । यो मानेमा मानव संख्या–जनसंख्याको अप्राकृतिक उपभोग एवं अनियोजित वृद्धि (?) अनि मानव जातिकै अतिभक्षण एवं प्रकृति उपरको अनधिकृत अतिक्रमणबाट आज प्रकृति आजीत भएको महसुस हुन्छ । र पनि आज हाम्रा वरिपरिका कुकुरहरु हिंडिरहेकाछन् थप सहजताकासाथ कतै मोटर गाडीले किच्लान् कि भन्ने उनीहरुलाई त्रासै छैन, परेवाहरु उडिरहेकाछन् थप स्वच्छ हावापान गर्दै उद्योग कल कारखाना र पेट्रोल डिजेलको धुवाँबाट वायु प्रदूषणउनीहरुले सहनु परेको छैन, बोट बिरुवाहरु पनि सदा झैं प्राणवायु अक्सिजनका पहरेदार बनेकै छन् । समग्रमा भन्दा जलचरहरु जलमा खेलिरहेकाछन्, खेचरहरु वायुमा रमण गरिरहेकाछन्, मानिसबाहेकका स्थलचर एवं उभयचरहरु पनि आफूलाई सकसमुक्त वातावरणमा चलायमान राखिरहेकाछन् । केवल मानिस आज एउटा निर्जीव (?) कणको अदृष्य शक्तिका सामू घूँडा टेकेर गिडगिडाइरहेकोछ, आ–आफ्नै घरभित्र घरकैदी/गृहबन्दी बनेर । जान्ने भनाउँदाहरु कोरोनाबाट सुरक्षित रहने एउटा मात्रै भरपर्दो उपाय ‘घरबाट बाहिर ननिस्कनु हो, Stay Home, Stay Safe’ भनिरहेकाछन् । अनि सर्वसाधारणहरु साँच्चै हो कि ख्याल–ख्याल ? सपना हो कि विपना भनेर अन्यमनस्कभावमा एकान्तवासमा बसिरहेकाछन् । कहिलेसम्म होला यस्तो हुने ? अनुत्तरित प्रश्न दिमागमा खेलाइरहेकाछन् । यो अवस्था लामो अवधिसम्मै कायम रह्यो भने के होला ? उत्पादनका कामहरु ठप्पप्रायः छन्, पशुपालक कृषकहरु पशुलाई फुकाएर छाडिदिन विवश छन् । अनि उत्पादनको सीमिततालाई मध्यनजर गर्दा पैसा खाएर हुने हैन, मोवाइल, टिभी, मोटर, कार सुनेर, चढेर भोक मर्ने हैन । शायद सक्षमहरुले असक्षमहरुकै भक्षण गर्ने क्षण त झुल्किने हैन ? यो सन्त्रस्तताले समस्त संसारमा मनोसामाजिक विकृतिलाई निम्ता गरिरहेझैं लाग्दछ ।
प्रस्तुत सन्दर्भमा फेवातालमा फोहोर घटेपछि जलकुम्भी विलय हुँदै गए जस्तै यो वायुमण्डल–वायुमहासागरमा रहेका उभयचर, स्थलचर, खेचरहरुको प्राकृतिक एवं सन्तुलित संख्याप्रतिको अतिक्रमण र अतिभक्षणको कर्मबाट प्रदूषणको कारक बनेको ‘मान्छे’को अनावश्यक संख्यामा कटौती भई प्रकृतिको जैविक अनुपातमा मानवको यथायोग्य संख्या कायम हुन पुगेपछि यो ‘वायुकुम्भी’ बनेको कोरोनाको प्रकोप पनि स्वतः घटेर जाने जस्तो देखिन्छ । नत्र प्रकृतितः सिर्जना भएको यो ‘कोभिड(१९’ को सन्त्रास मान्छेमा मात्र किन ? भन्ने प्रश्नले समुचित उत्तरको अपेक्षा निरुत्तर भैरहन हुन्थेन । यसो भनेर भैरहेको वैज्ञानिक खोज अनुसन्धानप्रतिको अनास्था प्रकट भने हुँदै होइन । रपनि उही शास्त्रोक्त वचन –
आयु कर्म च वित्तं च विद्याऽनिधनमेवच, पञ्चैतानेही सिज्ज्र्यन्ते गर्भस्थस्यैवदेहिनाम् । अर्थात्
आयु र विद्या धन कर्म मर्नु, यी पाँच कुरामा पछुतो नगर्नु ।
जुन जन्मँदैदेखि सबै मिलेर, जन्मन्छ शिशु गर्भमै लिएर ।। भनेझैं आयु र मृत्यु गर्भमै तोकिएको रहेछ कि ? ठूला हवाइजहाज दुर्घटनाबाट बँचेका उदाहरण पनि छन्, हालै राजकुमारी, पूर्व प्रधानमन्त्रीहरुले मृत्युवरण गरेका, राजकुमार, परष्ट्रपति, प्रधानमन्त्रीहरु सङ्क्रमित भएका जिउँदा प्रमाण पनि छन् । जेहोस् मर्न को मर्ने हो ? टुङ्गो छैन तर मर्ने मान्छे नै हो भनिरहेछ – कोरोनाले । मृत्यु र सङ्क्रमण हेर्दा हाम्रा प्रातःस्मरणीय कविशिरोमणि लेखनाथ पौड्यालको
थुप्रोमा उछिनी मीठो र नमीठो रोजेर छन्दैन त्यो,
आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो । भन्ने अभिव्यक्तिको पुष्टि भएको जस्तो लाग्छ । हैन भने मर्ने रहर त कसलाई पो हुन्छ र !
अन्त्यमा,
विज्ञान पढेको म विद्यार्थीकालमा गाउँमा पुरेतबासँग ‘तपाईंका भगवान÷देवता कहाँ छन् ?यत्तिकै धर्मका लड्डु बनाएर यजमानहरुलाई उल्लु बनाउन हुन्छ ?हामी त प्रयोगशालामा प्रमाणित भएको व्यहोरालाई मात्रविश्वास गर्छौं’ भनेर सोध्दा ‘तिमीजस्ता पढेका मान्छेले पनियसो भन्न मिल्छ त नि !भगवान देख्न त आफ्नै शरीरमा धमिरा लगाउनेजस्ताऋषि÷महर्षिबन्न सक्नुपर्दछ । हामीलेपनि कहाँ कल्ले देख्न सकेका छौं त नि बाबु ! वहाँ त सबैका घट–घटमा हुनुहुन्छ, तपाईंसँग, मसँग, पशुपंक्षीसँग, बोटबिरुवासँग । त्यतिमात्रकहाँ? ढुङ्गा माटोका कण–कणमा व्याप्त हुनुहुन्छ’ भन्नु हुन्थ्यो । कतै सर्वत्र छाएको अदृष्य यो ‘वायुकुम्भी’ जस्तो बनेको कोरोनापनि देवरुपै त हैन ? जे भएपनि यसले आफ्नो भाग तुरुन्त पुरा गरोस् ताकि जिउन योग्यहरुको जीवन शीघ्र सामान्य बनोस् ! सबै घरमै बसौं, कोही बाहिर ननिस्कौं, सरकारहरुका आदेशहरु पालना गरौं ।
…सके सपारौं, नसके नबिगारौं…
हामीसबैकोकल्याणहवोस्
हाल : कीर्तिपुर–२, अमृतनगर, काठ्माडौं


