पोखरा । विश्वकै ठूलो मानिनृ गायन रियालिटी शो अमेरिकन आइडलमा तहल्का पिटिरहेका नेपाली युवा दिवेश पोखरेललाई अझै अगाडि बढ्नको लागि फ्यानको सहयोग आवश्यक पर्ने भएको छ । उनले आफ्नो फेसबुक पेजमार्फत यहाँसम्म अघि बढाउन सघाउने सबैलाई धन्यवाद दिदैँ सबै फ्यानहरुलाई भोट गर्न अपिल गरेका छन् ।
अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी पेरीको अगाडि प्रस्तुती दिँदै संसारभरका संगीतप्रेमीको मन जितेका दिवेशलाई जिताउन भोटिङको अभियान पनि सुरु गरिएको छ । भोटिङ आजदेखि खुल्ला भएको छ भने आउँदो अप्रिल २९ तारिखसम्म उनलाई भोट गर्न पाइनेछ । दिवेशले फेसबुक पेजमा एउटा भिडियो सन्देश जारी गर्दै भोटिङका लागि अपिल गरेका छन् ।
एक जना ब्यक्तिले ३ फरक फरक तरिकाले ३० पटकसम्म भोट गर्न पाउने ब्यबस्था गरिएको छ । मोवाइल एसएाएस पठाएर, अमेरिकन आइडलको मोवाइल एपमार्फत तथा अमेरिकन आइडलको वेबसाइटमार्फत गरी ३ तरिकाले भोट गर्न सकिनेछ । प्रत्येक तरिकाबाट बढीमा १० भोट गर्न पाइनेछ । भोटिङ गर्ने तरिका दिवेशले फेसबुक पोस्ट र भिडियो सन्देशमा बताएका छन् ।


