काठमाडौं– दुई साता अघिसम्म लोकप्रिय अभिनेता तथा समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’ ले घरमै बसेर जनचेतनामूलक छोटो चलचित्र बनाएर फेसबुकमा अपलोड गर्नु भयो । भाइ कुमार कट्टेलले मोबाइलबाटै छायांकन तथा सम्पादन गर्नु भएका ती छोटा चलचित्रहरुमा धुर्मस र सुन्तली (कुञ्जना घिमिरे) ले अभिनय गरेर दर्शकलाई मनोरञ्जनमा होइन, जनचेतनासमेत फैलाउनु भयो ।
‘आज वैशाख १२ गते, भूकम्प गएको पाँच वर्ष पुगेको दिन’, कलाकर्मी डटकमसंग शुक्रवार बिहान कुराकानी गर्दै धुर्मुसले भन्नु भयो- ‘त्यो बेला पनि हाम्रो देशमा प्राकृतिक विपत्ति आइलागेको थियो, अहिले कोरोना भाइरसको महामारीले त्यो भन्दा ठूलो विपत्ति आइलागेको छ ।’ भूकम्प र कोरोनालाई तुलना गर्नै नमिल्ने उहाँको तर्क छ ।
‘अहिले त कसरी पहिला आफूलाई जोगाउने र अरुलाई पनि जोगिन प्रेरित गर्ने भन्ने पहिलो महत्वपूर्ण कुरामा ध्यान दिनु पर्ने अवस्था छ’, धुर्मुसले भन्नु भयो- ‘त्यही भएर लकडाउनका अघिल्ला केही साता हामीले घरभित्रै बसेर आफूलाई जोगाउने, अरुलाई जोगिन सिकाउने काममा व्यस्त भयौं । तर, भूकम्पको बेला हामीले जसरी पीडितहरुको घर–घरमै पुगेर राहत बाँडेका थियौं, उद्धार गरेका थियौ । लक डाउनको अवधि लम्बिएपछि हामी घरभित्रै सिमित हुन सकेनौं । त्यसैले अघिल्लो सातादेखि हामी घर बाहिर निस्किएर सकेको सहयोग गर्न थालेका छौं ।’
हुन पनि पाँच वर्ष अघिदेखि धुर्मुस–सुन्तलीले आफ्नै नाममा फाउण्डेसन नै स्थापना गरेर गरिव, दुःखी, पीडितहरुको सेवामा जुट्दै आउनु भएको । ‘हाम्रो झण्डै छ वर्ष अघिदेखिको यात्राको क्रममा हामीले राहत र उद्धारका धेरै काम गरिसकेका छौं, धुर्मुसको भनाइ छ- ‘अहिलेको यो महारामीमा आफू बाँचेर अरुलाई बचाउनु न सबैभन्दा ठूलो कर्तव्य हुने सोचेर हामी अगाडि बढेका छौं ।’
‘हास्य कलाकार सिताराम कट्टेल सामाजिक सेवामा पनि सक्रिय छन् भन्ने कुरा प्रायः सबैलाई जानकारी भएकै हो । लकडाउन लम्बिएकै कारण हामीले भरतपुरमा निर्माणाधीन रंगशालाको काम पनि छाडेर बसेका छौं । लकडाउनको प्रारम्भिक चरणमा हामीले घरैमा बसेर चेतनामूलक भिडियोहरु बनायौं, फेसबुक र यूट्युबमार्फत सार्वजनिक गर्यौं ।’
‘लकडाउन लम्बिएपछि धुर्मस–सुन्तली फाउण्डेसनको सञ्चालक समितिका सदस्यहरुको छलफलले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि लगाइएको लकडाउनमा समेत केही राहत र उद्धारका काम गरौं भन्ने निर्णय भयो, धुर्मुस भन्नु हुन्छ–‘यसको थालनी हामीले अघिल्लो साता कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयमा अध्ययनरत दुई सय जना विद्यार्थीहरुलाई राहत वितरण गरेर गर्यौं ।’
‘त्यसपछि हामीले चितवनका २४ जना विद्यार्थीहरुलाई झापाबाट उद्धार गरेर दुई वटा माईक्रोबसमा राखेर घरसम्म पुर्यायौं, धुर्मुसले यो बीचमा गरिएका राहत र उद्धारका कार्यहरु सुनाउँदै भन्नु भयो- ‘ललितपुरमा रोकिएका ९० जना कामदारहरुलाई दुई वटा बस रिभर्ज गरेर दाङ पठायौं, कुञ्जनाले ४४ जना परिवारलाई उनीहरुकै घरमा पुगेर राहत वितरण गरिन् ।’
‘मातातीर्थ औंशीका दिन म आफैं गाडी लिएर काठमाडौंका विभिन्न स्थानको भ्रमण गरेर अति आवश्यक भएका व्यक्तिहरुलाई आर्थिक सहयोग नै गरें ।त्यसक्रममा चोभार, कीर्तिपुर, नख्खु, सातदोबाटा, इमाडोल, कोटेश्वर, भक्तपुरको सूर्य बिनायक, सल्लाघार, चावहिल, कपन, लामिम्पाट आदि क्षेत्रमा पुगेर राहत स्वरुप नगद नै वितरण गर्नु भयो ।
आमाको मुख हेर्ने दिनमा केही आमाहरुको अनुहारमा खुशी ल्याउने आशा सहित उहाँले विभिन्न स्थानमा पुगेर रकम सहयोग गर्नु भएको छ । मृगौला विरामी, दृष्टिबिहिनदेखि हिडेरै काठमाडौंबाट घर जाँदै गरेका मानिसहरुलाई उहाँले नगद सहयोग गर्नु भएको हो । ‘एक जना बढी आमा कोटेश्वर हुँदै भकुन्डेबेंशी हिंड्न थाल्नु भएको हरेछ, उहाँको पीडा सहनै नसकेर उहाँलाई पनि आर्थिक सहयोग प्रदान गरें, धुर्मुसका अनुसार अनुसार आगामी दिनमा फाउन्डेशनका साथीहरुसंगको समन्वयमा कसरी अगाडि बढ्ने भन्ने बारेमा सल्लाह भैरहेको छ ।
‘राहत र उद्धारका लागि हामीलाई धेरै जनाको अनुरोध आइरहेको छ, धुर्मुश भन्नु हुन्छ-‘धेरै जनाले समस्या पर्यो भन्दै म्यासेज पठाइरहनु भएको छ, हामीलाई भने वास्तविक पीडित हो कि होइन भनेर पहिचान गर्नै गाह्रो भैरहेको छ । अहिले हामी वास्तविक पिडितहरु पहिचान गर्दै सकेको राहत वितरण गदैं आएका छौं ।’
अबका दिनमा हाम्रो देश कसरी अघि बढ्ला ?
धुर्मुसको जवाफ छ- ‘अहिले विश्वभरीकै चिन्ताको विषय बनेको छ यो कोरोना । नेपालमा पनि सबैभन्दा बढी चिन्ताको विषय नै यही कोरोना हो । मलाई लाग्छ नेपालको ईतिहासमै सबैभन्दा ठूलो विपते नै यही नै होला । हिजोका दिनमा हामीले भूकम्पलाई ठूलो विपत् मान्दै आएका थियौं, आज कोरोनाका कारण त्यो भन्दा ठूलो पीडा भोगिरहेका छौं ।’
त्यसो त धुर्मुसले केही सुझाव पनि दिनु भएको छ । उहाँ भन्नु हुन्छ- ‘अब हामी सबैले परिस्थितिको सामना गर्नका लागि आत्मबल बढाउने बेला आएको छ । हामी सबै एक भएर अघि बढ्ने बेला आएको छ । अर्थतन्त्र धराशायी हुने अवस्था भएकाले अब हामीले आत्मनिर्भर बन्ने पर्ने बेला आएको छ । आत्म निर्भर बन्नु पर्ने रहेछ भन्ने चेतना समेत हामी सबै नेपालीहरुलाई यही क्षणले सिकाएको छ । अब हामीले हाम्रै देश भित्र भविष्य खोज्ने बेला आइसकेको छ ।
हामीले प्रकृतिको दोहन गरेका कारण यो विपत्ति आइलागेको हो भन्ने कुराको पाठ पनि यही कोरोनाले सिकाएको छ । अब हामीले के का लागि लोभ गर्ने भन्ने सन्देश पनि दिएको छ । स्वार्थभन्दा सर्वहीतका लागि काम गर्ने बेला आएको छ भन्ने सन्देश पनि दिएको छ । एकतामै बल रहेछ भन्ने कुरा पनि सिकाएको छ । भाइचाराको पाठ पनि सिकाएको छ ।
त्यसैले सबैभन्दा पहिला देशको नेतृत्व गर्ने सरकार अनि राज्य नै संवेदनशील हुनुपर्छ । सरकार स्वयं जुरुक्कै उठेर अघि बढ्ने बेला आएको छ । यो महामारीको अवस्था कहिलेसम्म रहने भन्ने कुराको कुनै ग्यारेन्टी छैन । त्यसैले अब हामी सबै संवेदनशील भएर अघि बढ्ने बेला आएको छ ।’ लकडाउनको अवधि बढिरहदा काठमाडौं छाडेर गाउँ जानेहरुको संख्या ह्वात्तै बढेको छ ।
त्यसरी गाउँ पुग्ने सर्वसाधारणलाई धुर्मुश के सन्देश दिन चाहनु हुन्छ ?
‘मैले अघि पनि भनें । अब हामी आत्मनिर्भर हुनै पर्छ । गाउँ पुग्नु भएका प्रत्येक नेपालीलाई म गाउँमै खेतिपातीमा सक्रिय हुन आग्रह गर्दछु । तरकारी खेती, फलफूल खेती, कुखरा पालन, बाख्रा पालन अर्थात आय आर्जनका जे जे काम गर्न सकिन्छ, ती सबै गर्न आग्रह गर्दछु । हामीले विगतमा प्लटिङ गरेर सिध्याएका खेतहरुमा खेती गर्न र देशलाई आत्म निर्भर बनाउन सक्दो सहयोग गर्नु हुन आग्रह गर्दछु ।’ ‘अहिले विदेशमा रहनु भएका लाखौं नेपालीहरु स्वदेश फर्किन कति आतुर हुनुहुन्छ, हामीले अनुभव गरिरहेका छौं, धुर्मुसको भनाइ


