काठमाडौं– लकडाउनका कारण सर्वसाधारणदेखि सेलिब्रेटीसम्म घरमा बस्न बाध्य भएपछि आफूले सकेको तथा जानेको काम गर्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने क्रम बढेको छ ।
यसैक्रममा धुर्मुस तथा सुन्तली अर्थात अभिनेता सिताराम कट्टेल तथा कुञ्जना घिमिरेले भने कोरोना भाइरसविरुद्ध जनचेतना जगाउने शैलीका सर्ट फिल्महरु बनाएर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेका छन् ।
त्यसका लागि धुर्मुस र सुन्तलीले स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीप्रति समर्पित एउटा सर्ट फिल्म बनाएका छन् , जसमा सीताराम प्रहरी अधिकृत तथा कुञ्जना स्वास्थ्यकर्मीको भूमिकामा देखिएका छन् । सर्ट फिल्म्ममा उनीहरुको सन्तानप्रतिको दायित्व तथा घरबेटीसँगको सम्बन्ध बारे पनि देखाइएको छ।
यसअघि उनीहरुले लकडाउनका कारण समस्या परेकालाई राहत वितरण गर्ने नाममा मानिसहरुमा बढेको प्रचारमुखी प्रवृत्तिलाई समेटर व्यंग्यसहितको सर्ट फिल्म बनाएका थिए ।
सर्ट फिल्ममार्फत उनीहरुले राहत वितरण गर्दा वास्तविक पीडितको पहिचान गर्नुपर्ने सन्देशसमेत दिएका थिए । सर्ट फिल्म सामाजिक सञ्जालमा अपलोड गर्ने निरन्तरता अभियानलाई उनीहरुले आगामी दिनमा पनि दिने सम्भावना छ ।


