गोरखा समाचारदाता
गोरखा – उत्तरी गोरखाको ब्यापारीक नाका आरुघाट बजारमा खाद्यान्नको समस्या नभएको स्थानियले जानकारी दिएका छन् ।
जिल्लाका पत्रकारहरु संग छलफल गर्दै लकडाउनका कारण खाद्यान्न समस्या नभएको जानकारी दिएका हुन् ।
नेपाल पत्रकार महासंघ गोरखाको अगुवाईमा जिल्लाको विभिन्न गाउँपालिमाहरुको स्थलगत अनुगमन र स्थानिय संगको छलफलका क्रममा आरुघाटका स्थानिय तथा ब्यापारीहरुले खाद्यान्नको समस्या नभएको बताएका हुन् । ‘बरु लकडाउन संगै हामीले नियमीत रुपमा सेवन गर्दै आएको दुग्ध पदार्थ समेत हामीले खरिद गर्न छाड्यौं’ उद्योग बाणिज्य संघ आरुघाट इकाईका अध्यक्ष विश्व श्रेष्ठले बताए ।
खाद्यान्न ढुवानी रोकिएका अवस्थामा पनि अझै १५ दिनका लागि खाद्य सामाग्री ब्यापारीहरु संग रहेको समेत छलफलमा सहभागि अन्य ब्यापारीहरुले बताए ।
आवश्यकताको आधारमा गोरखा बजारबाट खाद्यान्न नियमीत आउने गरेकोले खाद्यान्नमा कुनै समस्या नभएको अध्यक्ष श्रेष्ठको भनाई थियो ।
यही बजार भएर उत्तरी गोरखामा खाद्यान्न ढुवानी हुने गर्दछ । ८० प्रतिशत भन्दा बढी भू–भाग ओगटेको उत्तरी गोरखालाई आरुघाटका ब्यापारीहरुले सामान ढुवानी गर्दै आएको छ ।
यहाँका ब्यापारीहरुले साविकको उत्तरमा रहेको २ दर्जन भन्दा बढी गाउँ विकास समितीमा सामान ढुवानी गर्दै आएका छन् ।




















