कोरोना भाइरसबाट अमेरिका सबैभन्दा पीडित राष्ट्र बनेको छ । विश्वमै १५ लाख १३ हजार २४३ जना संक्रमित हुँदा अमेरिकामा मात्र ४ लाख २० हजार २१० जना संक्रमित भएका छन् । अहिलेसम्म त्यहाँ यो भाइरसबाट १४ हजार ७ सयभन्दा बढीको मृत्यु भइसकेको छ । कोरोनाको संक्रमणपछि अमेरिका विश्व शक्तिराष्ट्रको पहिलो नम्बरबाट हट्नसक्ने अनुमान समेत गरिएको छ ।
अमेरिकामा कोभिड १९ को संक्रमणले भयावह रुप लिइरहेको अवस्थामा गएको आइतवार अभिनेता सरोज खनाल परिवारसँग भेट गर्न कतार एयरवेजको चार्टर्ड विमानबाट अमेरिका उडेका थिए । अमेरिकी सरकारले विदेशमा रहेका आफ्ना नागरिक स्वदेश फर्काउने क्रममा ग्रिनकार्ड होल्डर खनाल पनि अमेरिका प्रस्थान गरेका हुन् । उनी सुरक्षित रुपमा अमेरिका पुगेका छन् ।
‘लकडाउन’ को समयमा अमेरिकी सरकारले आफ्नो नागरिक फर्काउन चार्टर्ड गरेको विमानबाट अमेरिका उडेको खबर बाहिरिएपछि अभिनेता खनालको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । कतिले शक्तिशाली देशमा पुगेपछि कोरोनाबाट बच्न सकिन्छ भनेर देश छाडेको आरोप आएका छन् भने कतिले विपत्तको समयमा देश छाड्न नहुने तर्क राखेका छन् ।
कोरोनाको सन्त्रासबीच अमेरिका उडेको विषयमा सामाजिक सञ्जालमा भइरहेको टिका टिप्पणीको बारेमा अभिनेता सरोज खनालले अमेरिका ओर्लिएपछि आफ्नो स्पष्टिकरण दिएका छन् । उनले यो समय आफ्नो परिवारसँग विताउन उचित सम्झिएकाले अमेरिका आइपुगेको फेसबुकमा उल्लेख गरेका छन् । उनले जसले जे भने पनि आफूलाई कुनै फरक नपर्ने पनि बताएका छन् ।


