नेपाल गएको दुई हप्तादेखि लकडाउनमा छ । कोरोना भाइरसको संक्रमितको संख्या ९ पुगेपछि सरकारले मंगलवारबाट लागू हुने गरि ८ दिनका लागि लकडाउन अवधि थपेको छ । अहिले यो भाइरसबाट बच्न घरभित्रै बस्नुभन्दा अरु विकल्प छैन । यसकारण पनि सरकारले लकडाउन अवधि बढाइरहेको छ । यो समयमा अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन पाइँदैन ।
तेस्रो पटक सरकारले लकडाउन अवधि थप गरेपछि ज्याला मजदुरी गरेर परिवार पाल्ने श्रमिकहरुलाई बिहान बेलुका हातमुख जोर्न समेत समस्या हुन थालेको छ । फिल्ममा ज्याला मजदुरी गर्ने प्राविधिकहरुको अवस्था पनि दयनिय बनेको छ । सरकारले राहत प्याकेजको घोषणा गरे पनि अझैसम्म वास्तविक समस्यामा परेका व्यक्तिसम्म राहत सामाग्री पुग्न सकेको छैन ।
फिल्मका प्राविधिकहरुको परिवारमा आर्थिक संकट परेपछि नेपाली फिल्मकर्मीहरुले सहयोग रकम जुटाइरहेका छन् । कसैले नगद त कसैले खाद्यन्न किनेर सहयोग गरेका छन् । फिल्मकर्मीबाट प्राप्त सहयोगबाट खाद्यन्न सामाग्री किनेर प्राविधिकहरुको साझा संस्था चलचित्र प्राविधिक संघले आइतवारबाट वास्तविक समस्यामा परेका प्राविधिकहरुको घरसम्मै पुर्याइरहेको छ ।
तर, एकथरीले यसरी सहयोग गर्दा श्रमिकहरुको अपमान भएको भन्दै टिप्पणी गरिरहेका छन् । यस विषयमा कलाकार दीपकराज गिरीले फेसबुकमा स्टाटस लेख्दै बलिउड कलाकारले प्राविधिकलाई पैसा उठाएर मद्दत गर्दा राम्रो मान्ने तर नेपाली फिल्मकर्मीले सहयोग गर्दा चन्दा उठाएको र श्रमिकको अपमान भएको भन्दै नकारात्मकता फैलाएकोप्रति दुःख व्यक्त गरेका छन् ।


